काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टमा हुक्का, चुरोटलगायत सूर्तिजन्य पदार्थको प्रयोगलाई व्यवस्थित गर्न निर्देशन दिएको छ।
कार्यालयले मंगलबार जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत होटल तथा रेस्टुरेन्टमा अव्यवस्थित रूपमा धुम्रपान गर्ने गरेको तथा त्यसबाट धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा असर परेको भन्दै गुनासो प्राप्त भएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ बमोजिम धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थल स्पष्ट रूपमा छुट्याउन होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई निर्देशन दिएको छ।
त्यस्तै, धुम्रपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट बन्द हुने गरी व्यवस्थित गर्न र त्यसबाट अन्य व्यक्तिलाई असर नपर्ने व्यवस्था मिलाउन प्रशासनले भनेको छ।
कार्यालयका अनुसार अब जिल्ला प्रशासन कार्यालय तथा तोकिएका अन्य निकायले होटल तथा रेस्टुरेन्टको अनुगमन गर्नेछन्। अनुगमनका क्रममा ऐनविपरीत धुम्रपानसम्बन्धी गतिविधि सञ्चालन गरेको पाइएमा सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ बमोजिम कारबाही गरिनेछ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा जिल्लाभित्रका सम्पूर्ण होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गरिएको छ।
