काठमाडौं- योग तथा प्राकृतिक चिकित्सक संघ नेपालको अध्यक्ष पदमा डा. जनकबहादुर बस्नेत पुनः निर्विरोध निर्वाचित भएका छन्। काठमाडौंमा शनिबार सम्पन्न संघको १८औँ वार्षिक साधारणसभा तथा ९औँ महाधिवेशनले डा. बस्नेतको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो।
यससँगै विगत १८ वर्षदेखि संघको नेतृत्व सम्हाल्दै आएका डा. बस्नेतले पुनः संस्थाको बागडोर पाएका छन्।
अधिवेशनबाट संघको उपाध्यक्षमा डा. दिनेश राई, महासचिवमा डा. हेमराज कोइराला र कोषाध्यक्षमा डा. सञ्जु खाइजू चयन भएका छन्। त्यसैगरी कार्यसमिति सदस्यहरूमा डा. रविनलाल श्रेष्ठ, डा. सुमन चौलागाईं र डा. अभिश्राम गुरागाईं निर्विरोध निर्वाचित भएका छन्।
चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ हाइटमा रहेको ‘जंगल महल वेलनेस रिसोर्ट’ मा आयोजना गरिएको उक्त अधिवेशनको उद्घाटन अग्रज प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेलले गरेका थिए। कार्यक्रममा डा. पोखरेल तथा वरिष्ठ चिकित्सक प्रा.डा. दिनेश प्रसाईं लगायतका अतिथिहरूले मन्तव्य व्यक्त गर्दै योग तथा प्राकृतिक चिकित्सा क्षेत्रको विकास र दायरा विस्तारमा जोड दिएका थिए।
महाधिवेशनका क्रममा चिकित्सकहरूको पेसागत हकहित, क्षमता अभिवृद्धि, संस्थागत एवं आर्थिक सुदृढीकरण र योग तथा प्राकृतिक चिकित्साको समग्र विकासबारे गहन छलफल भएको थियो। पदभार ग्रहण गर्दै नवनिर्वाचित कार्यसमितिले देशमा योग र प्राकृतिक चिकित्साको प्रवर्द्धनका साथै यस क्षेत्रमा कार्यरत चिकित्सकहरूको पेसागत अधिकार र व्यावसायिक सुरक्षाका लागि थप प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।