घोराही- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा कार्यरत चिकित्सक, कर्मचारी, विद्यार्थी तथा प्रतिष्ठानसँग आबद्ध विभिन्न पक्षबीच आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजित ‘उपकुलपति (भीसी) कप फुटसल प्रतियोगिता–२०८३’ शनिबारदेखि सुरु भएको छ।
प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिता दुई दिनसम्म चल्नेछ। घोराहीको भरतपुर रोडनजिकै रहेको पुरानो हाउस फुटसल मैदानमा भइरहेको प्रतियोगितामा प्रतिष्ठानमा कार्यरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीका गरी विभिन्न १० टोलीको सहभागिता छ।
प्रतियोगिताको उद्घाटन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख तथा अस्पताल निर्देशक सह–प्राध्यापक डा. सुरेश रसाइलीले गरे। उद्घाटन कार्यक्रममा बोल्दै डा. रसाइलीले स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, कर्मचारी तथा विद्यार्थीको व्यस्त कार्यतालिकाबीच खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यका साथै आपसी सम्बन्धलाई समेत थप मजबुत बनाउने बताए।
उनले प्रतिष्ठानमा कार्यरत जनशक्तिबीच आपसी परिचय, सहकार्य र टिम भावना अभिवृद्धि गर्न यस्ता खेलकुद गतिविधिले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।
प्रतियोगितामा सहभागी टोलीहरूले उत्साहपूर्वक प्रतिस्पर्धा गरिरहेका छन्। फुटसल प्रतियोगिताले प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थीबीच खेलकुदप्रतिको रुचि बढाउनुका साथै कार्यस्थलमा सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगिता भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई पुरस्कार तथा सम्मान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अजयकुमार मिश्रबाट प्रदान गरिनेछ।