पोखरा- पोखरास्थित गण्डकी मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस इन्टर्न चिकित्सक र कलेज व्यवस्थापन पक्षबीच निर्वाह भत्ता निरन्तर दिने सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीको रोहवरमा आइतबार कलेज व्यवस्थापन समिति र आन्दोलनरत विद्यार्थीहरूका प्रतिनिधिबीच भएको समन्वय बैठकमा यस्तो निर्णय भएको हो।
सहमतिअनुसार कलेज प्रशासनले इन्टर्नसिपमा कार्यरत प्रशिक्षार्थी डाक्टरहरूलाई यसअघि उपलब्ध गराइँदै आएको मासिक निर्वाह भत्तालाई नै निरन्तरता दिने भएको छ।
साथै, अन्य थप विषयहरूमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र सम्बन्धित अन्य नियमनकारी निकायहरूबाट प्राप्त हुने निर्देशनका आधारमा अगाडि बढ्ने सहमति पत्रमा उल्लेख छ।
जिल्ला प्रमुख अधिकारी कुमानसिंह गुरुङ, कलेज व्यवस्थापन पक्ष र इन्टर्न चिकित्सकका प्रतिनिधिहरूको उपस्थिति तथा हस्ताक्षरमा उक्त विवाद समाधान गरिएको हो।
