काठमाडौं- नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले मन्त्री सामान्य बिरामी हुँदा लाखौँ रुपैयाँ खर्च गरेर हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको भन्दै सरकारको आलोचना गरेकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले कर्णालीका नागरिकले सिटामोलसमेत नपाइरहेको अवस्थामा मन्त्रीलाई उपचारका लागि ३०–३५ लाख रुपैयाँ खर्च गरेर काठमाडौं ल्याइएको बताइन्।
उनले भनिन्, ‘जनताले राहत पाउँदैनन्। सिटामोल पाउँदैनन्। सुत्केरीले समयमा अस्पताल पाउँदैनन्। काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर हेलिकोप्टरमा काठमाडौं ल्याइन्छ। मन्त्रीलाई काठमाडौं ल्याउन ३०–३५ लाख रुपैयाँ खर्च गर्न सक्ने सरकारले ३ लाख रुपैयाँ खर्च गरेर जनतालाई राहत पुर्याउन सक्दैन?’
थापाले बिहान–बेलुकाको छाक टार्नसमेत कठिन भइरहेका नागरिकलाई सरकारले एक सिलिन्डर ग्याससमेत उपलब्ध गराउन नसकेको आरोप लगाइन्।
उनले प्रश्न गरिन्, ‘यो कस्तो सुशासन हो? सरकार कान खोलेर सुन्नुहोस्- मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान् छ। मन्त्रीका लागि हेलिकोप्टर पुग्ने, तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने, के यही हो राज्यको समानता? के यही हो जनताको सरकार?’
एक्सप्रेसवे निर्माणको कुरा गर्ने सरकारले कर्णालीका दुर्गम क्षेत्रमा आवश्यक औषधिसमेत पुर्याउन नसकेको उनको भनाइ थियो।
थापाले सरकारको प्राथमिकता र सेवा प्रवाहमा देखिएको असमानतामाथि प्रश्न उठाउँदै दुर्गम क्षेत्रका नागरिकले पनि आधारभूत स्वास्थ्य सेवा र औषधि सहज रूपमा पाउने व्यवस्था गर्न माग गरिन्।