काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद दर्शनाले स्वास्थ्य बीमामा देखिएको अव्यवस्था तत्काल अन्त्य गरी सर्वसाधारणलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग आग्रह गरिन्।
उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत थापाथलीस्थित परोपकार प्रसूति गृहको पछाडि फोहोर प्रशोधन केन्द्र निर्माण गर्न लागिएको विषयमा समेत आपत्ति जनाइन्। संवेदनशील स्वास्थ्य संस्थाको नजिक फोहोर प्रशोधन केन्द्र निर्माण गर्दा आमा र नवजात शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै उनले सो निर्माण प्रक्रिया रोक्न माग गरिन्।
प्रसूति गृह पछाडिको बाटोसमेत ढाकेर कुनै उचित सूचना वा जानकारी नदिई निर्माण कार्य अघि बढाइएको भन्दै स्थानीय बासिन्दाले विरोध गरिरहेको उनले सदनलाई जानकारी गराइन्। स्वास्थ्य संस्थाको संवेदनशीलता र जनस्वास्थ्यलाई ध्यानमा राखी वैकल्पिक स्थान खोज्न उनले सरकारसँग आग्रह गरिन्।
सांसद दर्शनाले नेपाल राष्ट्र बैंक (वा बैंक तथा वित्तीय संस्था) मा सुन धितो राखेर ऋण लिएका नागरिकको सुन हराएको विषय पनि सदनमा उठाइन्। सुन हराएपछि नागरिकले न त धितो फिर्ता पाएको न त बजार मूल्यअनुसार क्षतिपूर्ति नै पाएको भन्दै उनले पीडितको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद दर्शनाले एकैपटक स्वास्थ्य बीमाको अव्यवस्था, प्रसूति गृह नजिक फोहोर प्रशोधन केन्द्र निर्माण र सुन धितो राखेका नागरिकको समस्या समाधान गर्न सरकारसँग माग गरेकी हुन्।