वीरगञ्ज- नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा जीटीए फाउन्डेसनको सहकार्यमा एम्बुलेन्स चालकहरूका लागि आधारभूत जीवनरक्षा सम्बन्धी विशेष तालिम सफलतापूर्वक सम्पन्न भएको छ। आकस्मिक अवस्थामा बिरामीको प्रारम्भिक मूल्याङ्कन, हृदय–फोक्सो पुनर्जीवन (सीपीआर) तथा जीवनरक्षासम्बन्धी आवश्यक सीप अभिवृद्धि गरी अस्पताल पुग्नुअघि प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो।
उक्त तालिम जीटीए फाउन्डेसनद्वारा सञ्चालन भइरहेको “नेपालमा एम्बुलेन्स चालकहरूका लागि चरणबद्ध आधारभूत जीवनरक्षा तालिमको प्रभावकारिता” सम्बन्धी अध्ययनअन्तर्गत सम्पन्न गरिएको हो। अध्ययनको मुख्य उद्देश्य एम्बुलेन्स चालकहरूको आधारभूत जीवनरक्षा सम्बन्धी ज्ञान, दक्षता तथा व्यवहारिक सीप विकास गरी आकस्मिक स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्नु रहेको छ।
२ भदौ २०८३ गते मंगलबार बिहान ९:३० बजेदेखि १२:३० बजेसम्म नेशनल मेडिकल कलेजको सभाहलमा सञ्चालन भएको तालिममा ३४ जना एम्बुलेन्स चालकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा जीटीए फाउन्डेसनका तर्फबाट ललिता अवाल (इन्टरभेन्सन तथा अनुसन्धान विकास अधिकृत एवं प्रशिक्षक), रुबी श्रेष्ठ (अनुसन्धान सहायक) र ललिता कुँवर (अनुसन्धान सहायक)को उपस्थिति रहेको थियो। साथै, नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा. इशरत जहान को नेतृत्वमा कार्यक्रम सञ्चालन गरिएको थियो।
तालिम सञ्चालनमा जीटीए फाउन्डेसनका प्रशिक्षकहरूसँगै नेशनल मेडिकल कलेजबाट आधारभूत जीवनरक्षा प्रशिक्षक प्रशिक्षण (बीएलएस-टीओटी) सफलतापूर्वक सम्पन्न गरेका नर्सिङ इन्चार्ज गोमा के.सी. र दुर्गा चापागाईं ले समेत सहजीकरण तथा प्रशिक्षण प्रदान गर्नुभएको थियो।
तालिमका क्रममा सहभागी एम्बुलेन्स चालकहरूलाई आकस्मिक अवस्थामा बिरामीको प्रारम्भिक मूल्याङ्कन, हृदय–फोक्सो पुनर्जीवन (सीपीआर), आधारभूत जीवनरक्षा अभ्यास, प्राथमिक उपचारका विधि तथा जीवनरक्षासम्बन्धी विभिन्न व्यवहारिक सीपहरूबारे प्रशिक्षण दिइएको थियो। तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले एम्बुलेन्स चालकहरूको क्षमता अभिवृद्धिलाई स्वास्थ्य सेवाको महत्वपूर्ण पक्षका रूपमा ग्रहण गर्दै यस्ता व्यावहारिक तथा सीपमूलक तालिमलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ। आकस्मिक स्वास्थ्य सेवाको पहिलो सम्पर्क बिन्दुमध्ये एक मानिने एम्बुलेन्स चालकहरूको दक्षताले बिरामीको प्रारम्भिक व्यवस्थापन तथा सुरक्षित अस्पताल स्थानान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
जीटीए फाउन्डेसन र नेशनल मेडिकल कलेजबीचको यस सहकार्यले एम्बुलेन्स चालकहरूको क्षमता विकाससँगै समुदायस्तरमा आकस्मिक स्वास्थ्य सेवा तथा अस्पताल पुग्नुअघिको स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।