काठमाडौं- परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीले आफ्ना विशेषज्ञ स्वास्थ्य सेवालाई समुदाय स्तरसम्म विस्तार गर्ने क्रममा काठमाडौँको तारकेश्वर नगरपालिकासँग सम्झौता गरेको छ।
प्रसूति तथा स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा सर्वसुलभ रूपमा स्थानीय तहमै पुर्याउने उद्देश्यका साथ भदौ २ गते अस्पताल र नगरपालिकाबीच उक्त समझदारी भएको हो।
सम्झौता अनुसार अब प्रत्येक महिनाको दोस्रो बुधबार तारकेश्वर वडा नं. १ स्थित साङ्गला प्राथमिक स्वास्थ्य केन्द्रमा र अन्तिम बुधबार वडा नं. ८ को मनमैजु स्वास्थ्य चौकीमा अस्पतालका विशेषज्ञ डाक्टरहरूबाट बहिरंग सेवा सञ्चालन गरिनेछ। साथै, महिनाको एक दिन रेडियोलोजिस्टद्वारा भिडियो एक्स-रे सेवा समेत उपलब्ध गराइने भएको छ।
स्थानीय स्तरमै प्रसूति तथा स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा र भिडियो एक्स-रेमार्फत चेकजाँच पाउने भएपछि सेवाग्राहीहरूलाई टाढा धाउनुपर्ने बाध्यता हट्ने विश्वास दुवै पक्षले गरेको छ।