काठमाडौं — नेपालमा सञ्चालित केही मेडिकल तथा डेन्टल कलेज र अस्पतालले विदेशी चिकित्सक दर्ताका लागि पेश गरेका कागजात नक्कली भेटिएपछि नेपाल मेडिकल काउन्सिलले छानबिन अघि बढाएको छ। काउन्सिलले सम्बन्धित देशका नियामक निकायसँग प्रमाणीकरण गर्दा केही विदेशी चिकित्सकले पेश गरेको ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ सम्बन्धित मेडिकल काउन्सिलबाट जारी नभएको र फर्जी रहेको पुष्टि भएको जनाएको छ।
काउन्सिलले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार विदेशी नागरिक चिकित्सकहरूको दर्ताका लागि नेपालका मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालमार्फत पेश गरिएका कागजातको आधिकारिकतामाथि गम्भीर शंका उत्पन्न भएपछि सम्बन्धित देशका नियामक निकायसँग आधिकारिक रूपमा प्रमाणीकरण गरिएको थियो।
प्रमाणीकरणका क्रममा केही चिकित्सकले पेश गरेका गुड स्ट्यान्डिङ सर्टिफिकेट सम्बन्धित नियामक निकायबाट जारी नभएको पुष्टि भएपछि ती कागजात फर्जी रहेको काउन्सिलले जनाएको छ।
दर्ता प्रक्रिया रोकियो
फर्जी कागजात पेश गरेको पुष्टि भएका केही विदेशी चिकित्सक तथा छानबिनको प्रक्रियामा रहेका अन्य विदेशी चिकित्सकको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ।
काउन्सिलले कागजातको आधिकारिकता यकिन नगरी विदेशी चिकित्सकलाई दर्ताका लागि सिफारिस गर्ने सम्बन्धित मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालसँग समेत लिखित स्पष्टीकरण माग्ने निर्णय गरेको छ।
त्यसैगरी, सम्बन्धित विदेशी चिकित्सक र उनीहरूको कागजातमा सनाखत गर्ने नेपाली चिकित्सकलाई समेत आवश्यक बयानका लागि काउन्सिलमा उपस्थित गराउने तयारी गरिएको छ।
विशेष समिति गठन
घटनालाई गम्भीर रूपमा लिँदै काउन्सिलले नेपालका विभिन्न मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालमा कार्यरत विदेशी नागरिक चिकित्सकहरूको दर्ता अवस्था, कार्यस्थिति र व्यावसायिक गतिविधिबारे आवश्यक अनुसन्धान गर्न विशेष समिति गठन गरेको छ।
काउन्सिलका अनुसार नेपालमा स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक विदेशी चिकित्सकको शैक्षिक योग्यता तथा पेशागत कागजातको पूर्ण प्रमाणिकता सुनिश्चित गर्ने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
काउन्सिलले विदेशी चिकित्सक दर्ताका लागि सिफारिस गर्ने सम्बन्धित शिक्षण संस्था तथा अस्पताललाई पनि आफ्नो जिम्मेवारीप्रति सचेत गराएको छ। कागजातको आधिकारिकता यकिन नगरी विदेशी चिकित्सकको दर्ताका लागि सिफारिस गरेमा त्यसको जिम्मेवारी सम्बन्धित संस्थाकै हुने काउन्सिलले स्पष्ट पारेको छ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेद्वारा जारी सूचनामा विदेशी चिकित्सकहरूको योग्यता र पेशागत कागजातको प्रमाणिकता सुनिश्चित गर्न काउन्सिल प्रतिबद्ध रहेको उल्लेख छ।
काउन्सिलको यो कदमसँगै नेपालमा कार्यरत विदेशी चिकित्सकहरूको शैक्षिक तथा व्यावसायिक प्रमाणपत्र, दर्ता प्रक्रिया र उनीहरूलाई सिफारिस गर्ने मेडिकल कलेज तथा अस्पतालको भूमिकासमेत थप अनुसन्धानको दायरामा आउने भएको छ।