सिमरा- सिमरा विमानस्थलमा यात्रु तथा विमानस्थलमा कार्यरत कर्मचारीलाई आकस्मिक स्वास्थ्य सेवा तथा प्राथमिक उपचार उपलब्ध गराउने उद्देश्यले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जको सहयोगमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। कक्षको उद्घाटन नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारीले एक कार्यक्रमबीच गरेका हुन्।
सरकारले अघि सारेको १०० दिने विकास कार्यक्रमअन्तर्गत विमानस्थलहरूमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य अनुसार सिमरा विमानस्थलमा पनि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो।
सुरुआती चरणमा स्वास्थ्य सहायता कक्ष बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिने नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले जानकारी दिनुभयो। सेवाको आवश्यकता र विमानस्थलमा हुने यात्रुको चापअनुसार आगामी दिनमा सञ्चालन समय थप गर्न सकिने उहाँले बताउनुभयो।
स्वास्थ्य सहायता कक्षबाट विमानस्थलका यात्रु, एभिएसन कर्मचारी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी तथा अन्य सेवाग्राहीलाई आकस्मिक स्वास्थ्य जाँच, प्राथमिक उपचार तथा चिकित्सकीय परामर्श उपलब्ध गराइनेछ।
यात्रुमा आकस्मिक स्वास्थ्य समस्या देखिएमा तत्काल मेडिकल इमर्जेन्सी केयर उपलब्ध गराउनुका साथै आवश्यक परे थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा रेफर तथा समन्वय गरिनेछ। त्यस्तै, विमानस्थलमा विपद् वा ठूलो आकस्मिक घटना भएमा नेशनल मेडिकल कलेजको डिजास्टर रेस्पोन्स टिम परिचालन गरी आवश्यक स्वास्थ्य सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ।
स्वास्थ्य सहायता कक्षमा नेशनल मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले नियमित रूपमा सेवा प्रदान गर्नेछ। विमानस्थल परिसरमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध भएपछि यात्रु तथा कर्मचारीलाई आकस्मिक अवस्थामा तत्काल स्वास्थ्य परीक्षण, प्राथमिक उपचार तथा चिकित्सकीय परामर्श प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

विमानस्थल प्रशासन र नेशनल मेडिकल कलेजबीचको सहकार्यमा सुरु गरिएको यस स्वास्थ्य सहायता कक्षलाई सेवाको आवश्यकता र प्रभावकारिताका आधारमा आगामी दिनमा थप व्यवस्थित तथा प्रभावकारी बनाउँदै लैजाने जनाइएको छ।
उद्घाटन कार्यक्रममा नेशनल मेडिकल कलेजका एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ, एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, हस्पिटल डाइरेक्टर डा. इशरत जहाँ लगायत कलेजका प्रशासनिक कर्मचारी, सिमरा विमानस्थलका कर्मचारी, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।