काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबीच चालु आर्थिक वर्षमा सम्पन्न गरिने प्रमुख काम तथा हासिल गरिने उपलब्धिलाई लक्षित गर्दै कार्यसम्पादन सम्झौता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री मेहताले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरेका हुन्।
सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखिएको छ। चालु आर्थिक वर्षमा मन्त्रालयले हासिल गर्नुपर्ने प्रमुख उपलब्धि तथा कार्यसम्पादनका सूचकहरूलाई सम्झौतामार्फत व्यवस्थित गरिएको जनाइएको छ।
कार्यसम्पादन सम्झौताले मन्त्रालयका निर्धारित कार्यक्रम तथा लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र त्यसको प्रगति तथा उपलब्धिको मूल्यांकन गर्न आधार तयार गर्ने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार स्वास्थ्य तथा खाद्य स्वच्छताको क्षेत्रमा तय गरिएका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउँदै नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउनेतर्फ मन्त्रालय केन्द्रित हुने बताइएको छ।