काठमाडौँ - लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले तथा जापानिज इन्सेफलाइटिसलगायतका विभिन्न कीटजन्य रोग फैलिने क्रम बढ्दो छ। नेपालमा हालसम्म १ सय ६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा कीटजन्य रोगबाट करिब १८ हजार ७ सय १० जना प्रभावित भएका थिए।
पछिल्लो समय जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान र प्रजनन क्षेत्र विस्तार हुँदै जाँदा उच्च हिमाली भेगसमेत कीटजन्य रोगको जोखिममा पर्न थालेका छन्। तापक्रम वृद्धि, वर्षाको स्वरूपमा आएको परिवर्तन तथा वातावरणीय अवस्थाका कारण लामखुट्टेबाट सर्ने रोगको भौगोलिक विस्तार चुनौतीका रूपमा देखिएको विभागले जनाएको छ।
विभागका अनुसार कीटजन्य रोग नियन्त्रणका लागि सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी रोगको पहिचान, निगरानी तथा नियन्त्रणसम्बन्धी काम भइरहेको छ।
किट रोग नियन्त्रण शाखाका प्रमुख डा. कर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लामा देखा परिसकेको छ। रोगको भौगोलिक विस्तारसँगै सम्भावित जोखिम क्षेत्रमा निगरानी तथा नियन्त्रणका गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार लामखुट्टेको वृद्धि नियन्त्रण, पानी जम्न नदिने, व्यक्तिगत सुरक्षा अपनाउने तथा रोगका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा परीक्षण र उपचार गराउनेजस्ता उपायलाई प्राथमिकता दिन आवश्यक छ। जलवायु परिवर्तनसँगै लामखुट्टेबाट सर्ने रोग नयाँ क्षेत्रमा फैलिन सक्ने भएकाले स्थानीय तहदेखि केन्द्रसम्म रोग निगरानी र पूर्वतयारीलाई थप सुदृढ बनाउनुपर्ने देखिएको छ।