काठमाडौं- विश्व फिजियोथेरापी दिवस २०२६ को अवसरमा नेपाल फिजियोथेरापी संघ (नेप्टा) ले मंगलबार काठमाडौंमा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।
'स्ट्रोक तथा मुटु तथा रक्तनलीसम्बन्धी रोग' भन्ने यस वर्षको मुख्य नारालाई केन्द्रमा राख्दै आयोजना गरिएको उक्त कार्यक्रममा स्ट्रोक र हृदय रोगको रोकथाम, उपचार र पुनर्स्थापनामा फिजियोथेरापीको भूमिकाबारे प्रकाश पारिएको थियो।
एभरेष्ट हस्पिटल ब्लड बैंकको सहकार्य तथा क्रिस्टल पार्टी भेन्यूको स्थान सहयोगमा सम्पन्न पहिलो चरणको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन्। संकलित रगत आपत्कालीन अवस्थाका बिरामीका साथै बाढीपीडित तथा विपद्को समयमा उपचाररत व्यक्तिहरूका लागि उपयोग गरिने संघले जनाएको छ।
रक्तदानपश्चात् आयोजित अन्तरक्रियात्मक सत्रमा कार्डियोलोजिस्ट प्रा. डा. सञ्जय कुमार श्रेष्ठ, न्युरोलोजिस्ट डा. अविनाश चन्द्र, न्युरो फिजियोथेरापिस्ट शाज श्रेष्ठ र कार्डियोरेस्पिरेटरी फिजियोथेरापिस्ट दीपिका प्रजापतिले रोगको जोखिम, प्रारम्भिक पहिचान र पुनर्स्थापनामा फिजियोथेरापीको महत्त्वबारे प्रस्तुति दिएका थिए।
नेपाल फिजियोथेरापी संघका अध्यक्ष समिद कतिला श्रेष्ठको अध्यक्षता र नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सगुन पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न विशिष्ट अतिथि, १५० भन्दा बढी फिजियोथेरापी विद्यार्थी, फिजियोथेरापिस्ट तथा स्वास्थ्यकर्मीहरूको सहभागिता थियो।
वक्ताहरूले स्ट्रोक र मुटु रोगका बिरामीको कार्यक्षमता पुनःस्थापना गरी जीवनको गुणस्तर सुधार्न बहुविषयगत पुनर्स्थापना सेवा र नियमित शारीरिक गतिविधिको आवश्यकतामा जोड दिएका थिए।