घोराही- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट चरणका लागि संक्षिप्त सूची सार्वजनिक गरिएको छ।
प्रतिष्ठानले बिहीबार प्रकाशित गरेको सूचनाअनुसार छनोट समितिले आवेदनहरूको मूल्याङ्कन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारी नियुक्ति नियमावली, २०८३ (संशोधित) बमोजिम उम्मेदवारहरूलाई सर्टलिस्ट गरेको हो।
छोटो सूचीमा शिक्षाध्यक्ष पदका लागि कृष्ण कुमार झा, जनार्दन पन्थी, विकास गौचन र राम नारायण मण्डल छन्। त्यस्तै, डीन पदका लागि अम्बिका पौडेल ढकाल, कृष्ण कुमार झा र विकास गौचन छनोट भएका छन्।
रजिस्ट्रार पदका लागि एकानन्द सिंह, दिपेन्द्र गौतम, प्रमोद कुमार यादव, प्रविन कुमार गिरि, राम नारायण मण्डल र श्याम लम्साल सर्टलिस्टमा परेका छन्। निर्देशक पदका लागि प्रविन कुमार गिरि, बिपिन खनाल र सुरेश वि.क. रसाइली छनोट भएका छन्।
प्रतिष्ठानका अनुसार आगामी चरणमा सर्टलिस्टमा परेका उम्मेदवारले दृष्टिकोणसम्बन्धी पत्र तथा रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ। त्यसपछि अन्तिम प्यानल अन्तर्वार्ता हुनेछ।
अन्तर्वार्ता भदौ ८ गते सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय, घोराही, दाङमा हुने जनाइएको छ। शिक्षाध्यक्षको अन्तर्वार्ता बिहान ९ बजेदेखि १०:३० बजेसम्म, रजिस्ट्रारको १०:३० बजेदेखि १२:३० बजेसम्म, डीनको दिउँसो २ बजेदेखि ३ बजेसम्म र निर्देशकको ३ बजेदेखि ४ बजेसम्म हुने तालिका सार्वजनिक गरिएको छ।
