काठमाडौं- चार वर्षदेखि पाइल्सको समस्याबाट पीडित कालिकोटका ६ वर्षीय पर्वत परियारको काठमाडौं मेडिकल कलेज (केएमसी)मा निःशुल्क उपचार सुरु भएको छ। आर्थिक अभावका कारण उपचारका लागि अस्पतालसम्म पुग्न नसकेका पर्वतलाई कांग्रेस नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनील शर्माको पहलमा काठमाडौं ल्याएर उपचार सुरु गरिएको हो।
कालिकोटको खाँडाचक्र नगरपालिका–२ का पर्वतको जिल्ला अस्पतालमा उपचारका क्रममा अवस्था गम्भीर देखिएको थियो। चिकित्सकले थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाएका थिए। क्यान्सरको आशंकासमेत गरिएपछि थप परीक्षण आवश्यक रहेको चिकित्सकको भनाइ थियो।
तर, अपांगता भएका पर्वतका बुबा सेरे दमाई र गिट्टी कुटेर परिवार पाल्दै आएकी आमा पार्वतीसँग छोरालाई सुर्खेतसम्म लैजाने खर्चसमेत थिएन। चार वर्षदेखि बिरामी छोराको उपचार गराउन नसकेको परिवार आर्थिक अभावका कारण थप संकटमा थियो।
पर्वतको अवस्थाबारे पत्रकार पुष्प भट्टराईले शर्माका मीत तथा बाल्यकालदेखिका साथी प्रेम शाहीलाई जानकारी गराएका थिए। शाहीमार्फत जानकारी पाएपछि शर्माले पर्वतका बाबुआमासँग भिडियो कलमार्फत कुराकानी गरी पारिवारिक र आर्थिक अवस्थाबारे जानकारी लिएका थिए।
कुराकानीपछि शर्माले पर्वतलाई तत्काल काठमाडौं ल्याएर उपचार गराउने निर्णय गरे। उनले परिवारसँग उपचार, खाना तथा काठमाडौंसम्मको यात्राखर्चसमेत आफूले व्यहोर्ने बताए।
शर्माको पहलपछि सेरे र पार्वती आफ्ना दुई छोरासहित पर्वतलाई लिएर मान्मबाट सुर्खेत हुँदै काठमाडौं आएका हुन्। दुई दिनको यात्रापछि काठमाडौं आइपुगेका उनीहरूलाई लिन केएमसीको एम्बुलेन्स पठाइएको थियो।
काठमाडौं आएपछि शर्माले परिवारलाई भेटेर यात्राको अवस्थाबारे जानकारी लिए र पर्वतलाई अस्पताल पुर्याए। त्यसपछि पर्वतलाई केएमसीको आकस्मिक कक्षमा भर्ना गरी आवश्यक जाँच तथा उपचार सुरु गरिएको छ।
केएमसीमा भर्ना भएदेखि उपचार पूरा नहुँदासम्म पर्वतको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ। उनका बाबुआमाका लागि अस्पतालमै बिहान, दिउँसो र बेलुकाको खानाको व्यवस्था पनि गरिएको छ। क्यान्सर पुष्टि भए थप उपचारका लागि विराटनगर पठाउनुपर्ने अवस्था आए त्यहाँ बस्ने व्यवस्थासमेत मिलाइदिने शर्माले परिवारलाई बताएका छन्।
पर्वतको वास्तविक रोग, क्यान्सर भए–नभएको र आवश्यक उपचारबारे चिकित्सकले गर्ने थप परीक्षणपछि टुंगो लाग्नेछ। चार वर्षदेखि उपचारको अभावमा पीडा भोगिरहेका पर्वतको भने अहिले केएमसीमा उपचार सुरु भएको छ।
आर्थिक अभावका कारण अस्पतालसम्म पुग्नसमेत नसकेको परिवार अहिले काठमाडौंमा छ। उपचार सुरु भएपछि पर्वतका बाबुआमामा छोराको स्वास्थ्यमा सुधार आउने आशा पलाएको छ।