कटारी (उदयपुर)- उदयपुरको कटारीस्थित कटारी अस्पतालले उपचारका लागि आउने बिरामीहरूको आर्थिक भार कम गर्ने उद्देश्यले सहुलियतपूर्ण दरमा २४ घण्टा अस्पताल फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ।
अस्पतालले बिरामीहरूका लागि औषधिको सहजता, पारदर्शिता र मूल्यसम्बन्धी जानकारी सुनिश्चित गर्न डिजिटल डिस्प्ले तथा क्युआर कोड स्क्यानमार्फत विवरण हेर्न सकिने नयाँ व्यवस्थासमेत लागू गरेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव साहद्वारा जारी सूचना अनुसार अब बिरामी तथा सर्वसाधारणले आफ्नो मोबाइलको क्यामेराबाट क्युआर कोड स्क्यान गरी अस्पताल फार्मेसीमा उपलब्ध कुल औषधि, निःशुल्क पाइने औषधि, स-शुल्क औषधिको प्रकार, बजार मूल्य, अस्पतालको दररेट, छुट प्रतिशत, औषधिको उपलब्धताका साथै कार्यरत कर्मचारीको विवरण समेत हेर्न सक्नेछन्।
औषधिमा ९५ प्रतिशतसम्म छुट र १३७ प्रकारका औषधि निःशुल्क
अस्पताल फार्मेसीबाट बिक्री गरिने विभिन्न प्रकारका औषधिहरूमा २८ देखि ९५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ। सूचना अनुसार:
२८ थरी औषधिमा २८% सम्म छुट
७१ थरी औषधिमा ३०% देखि ५०% सम्म छुट
११६ थरी औषधिमा ५०% देखि ६०% सम्म छुट
७२ थरी औषधिमा ६०% देखि ७०% सम्म छुट
३७ थरी औषधिमा ७०% देखि ९५% सम्म छुट दिइएको छ।
यसैगरी मानसिक स्वास्थ्यसम्बन्धी औषधिसहित १३७ प्रकारका औषधिहरू भने बिरामीहरूलाई पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने अस्पतालले जनाएको छ।
