काठमाडौं - निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै हरेक आइतबार विशेष ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।
अस्पतालका अनुसार प्रत्येक आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने विशेष ओपिडीमा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान तथा घाँटी रोग (इएनटी), रेडियोलोजी र प्याथोलोजीलगायतका सेवा उपलब्ध हुनेछन्।
अस्पतालकी सूचना अधिकारी रञ्जना नेपालका अनुसार आगामी दिनमा विशेष ओपिडीअन्तर्गत थप विशिष्टीकृत स्वास्थ्य सेवासमेत विस्तार गरिनेछ।
निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवा लिन लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै सहज र व्यवस्थित रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले विशेष ओपिडी सञ्चालन गर्न लागिएको नेपालले बताइन्।
विशेष ओपिडी सेवाबाट निजामती कर्मचारी तथा परिवारका सदस्यले बिदाको दिनमै विभिन्न विशेषज्ञ सेवा लिन सक्ने भएकाले नियमित उपचार तथा स्वास्थ्य परीक्षणमा थप सहजता हुने अस्पतालले जनाएको छ।