काठमाडौं — चिकित्सक तथा प्राध्यापक डा. मनोहर प्रधान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोषाध्यक्षमा मनोनित भएका छन्। उनी हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रमुख सल्लाहकारका रूपमा कार्यरत छन्।
चिकित्सकीय सेवा, प्राध्यापन र स्वास्थ्य क्षेत्रको नियमनमा लामो अनुभव हासिल गरेका प्रधान रास्वपाको स्थापनाकालदेखि नै पार्टी गतिविधिमा सक्रिय रहँदै आएका छन्। पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट निर्वाचित गराउन तथा पार्टी संगठन निर्माणमा उनले पृष्ठभूमिमा रहेर महत्वपूर्ण भूमिका खेलेका थिए।
प्रधानले नयाँ जिम्मेवारीलाई अवसरसँगै ठूलो दायित्वका रूपमा लिएको बताएका छन्। आफूलाई दिइएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने उनको भनाइ छ।
राजनीतिमा सक्रिय हुनुको कारणबारे प्रधानले नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समाजमा योगदान गर्ने चाहनाले आफूलाई राजनीतितर्फ आकर्षित गरेको बताए। पारिवारिक राजनीतिक पृष्ठभूमि र विद्यार्थी जीवनका अनुभवले पनि सक्रिय राजनीतिमा आउन प्रेरित गरेको उनको भनाइ छ।
जिम्मेवारी परिवर्तन भए पनि आवश्यकता र अवसरअनुसार अन्य क्षेत्रमा समेत योगदान गर्न आफू तयार रहेको उनले बताए।
‘पदभन्दा पनि काम महत्वपूर्ण हो,’ उनले भने, ‘जहाँ मेरो आवश्यकता हुन्छ, त्यहाँ जिम्मेवारी लिन तयार छु।’
नेपालमा निजी मेडिकल शिक्षाको सुरुवाती चरणमै चिकित्सा शिक्षाको यात्रा सुरु गरेका प्रधानले बंगलादेशबाट एमबीबीएस अध्ययन पूरा गरेका हुन्। त्यसपछि उनले विभिन्न सरकारी अस्पतालमा मेडिकल अफिसरका रूपमा सेवा गरे। उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एमडीजीपी पूरा गरेका छन्।
कलेज अफ मेडिकल साइन्सेजमा करिब १५ वर्षदेखि अध्यापन गर्दै आएका प्रधान चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा पनि सक्रिय छन्। उनी नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रूपमा दुई कार्यकाल काम गरिसकेका छन्।