दैलेख — नौमुले गाउँपालिका–३ भाँडे तथा नौमुले गाउँपालिका–२ का ठुलो चम्लाए, निर्गा र भावसैनी क्षेत्रमा पछिल्लो समय ज्वरो, रुघाखोकी तथा शरीर दुख्ने समस्या बढेपछि स्वास्थ्य सेवा कार्यालय दैलेख र नौमुले गाउँपालिकाको स्वास्थ्य शाखाको संयुक्त टोलीले प्रभावित क्षेत्रमा स्थलगत अध्ययन तथा प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गरी फर्किएको छ।
प्रभावित क्षेत्रमा देखिएको स्वास्थ्य समस्याको अवस्था बुझ्ने, सम्भावित कारण पहिचान गर्ने, रोकथाम तथा नियन्त्रणका उपाय तय गर्ने र स्थानीयलाई प्राथमिक स्वास्थ्य उपचार उपलब्ध गराउने उद्देश्यले स्वास्थ्यकर्मीको टोलीले करिब चार दिनसम्म प्रभावित बस्तीमा स्थलगत अध्ययन तथा स्वास्थ्य सेवा प्रदान गरेको हो।
स्थलगत अध्ययन तथा स्वास्थ्य परीक्षणमा स्वास्थ्य सेवा कार्यालय, दैलेखका मेडिकल अधिकृत डा. विवेक आचार्य, जनस्वास्थ्य अधिकृत चक्र शाही, ल्याब टेक्निसियन नरेश खड्का तथा प्यारामेडिक्स अ.हे.व. अविनाश साह खटिएका थिए। त्यस्तै, नौमुले गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सम्राट रेग्मी, बालुवाटार स्वास्थ्य चौकीमा कार्यरत वरिष्ठ अ.हे.व. इन्द्र बी.क. लगायत सम्बन्धित स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत स्वास्थ्यकर्मीहरू टोलीमा सहभागी थिए।
भाँडेमा घर–घरमै ज्वरोका बिरामी
स्थलगत अध्ययनका क्रममा नौमुले गाउँपालिका–३ भाँडेमा अधिकांश घरमा ज्वरो, रुघाखोकी तथा शरीर दुख्ने समस्या भएका व्यक्तिहरू भेटिएका थिए। त्यस्तै, नौमुले–२ का ठुलो चम्लाए, निर्गा र भावसैनी क्षेत्रमा समेत ज्वरो तथा रुघाखोकीका बिरामी भेटिएका थिए। यद्यपि ती क्षेत्रमा भाँडेको तुलनामा बिरामीको संख्या कम रहेको थियो।
टोलीले चारवटै क्षेत्रमा गरी २०९ जना बिरामीको स्वास्थ्य परीक्षणगरेको थियो। परीक्षण गरिएका अधिकांशमा ज्वरो, रुघाखोकी तथा शरीर दुख्ने जस्ता समस्या देखिएका थिए। विशेषगरी भाँडे क्षेत्रमा भने करिब हरेक घरधुरीमा ज्वरो तथा रुघाखोकीको समस्या भएका व्यक्ति भेटिएको प्रारम्भिक स्थलगत अध्ययनले देखाएको छ।
प्रभावित क्षेत्रमा गरिएको प्रारम्भिक परीक्षणका क्रममा आरटीडी मार्फत स्क्रब टाइफस, डेंगु, मलेरिया तथा टाइफाइड परीक्षण गरिएको थियो। परीक्षण गरिएका नमुनाहरूमा ती रोगका लागि नतिजा नेगेटिभ आएको थियो। यद्यपि, उक्त परीक्षणका आधारमा संक्रमणको निश्चित कारण पहिचान भएको मान्न नसकिने भएकाले आवश्यकताअनुसार थप प्रयोगशाला परीक्षण तथा निरन्तर रोग निगरानी आवश्यक देखिएको छ।
अबको प्राथमिकता : रोकथाम, निगरानी र सहज स्वास्थ्य सेवा
प्रारम्भिक स्थलगत अध्ययनले भाँडे लगायतका क्षेत्रमा ज्वरो तथा रुघाखोकीको समस्या समुदायस्तरमा व्यापक रूपमा देखिएको संकेत गरेको छ। त्यसैले प्रभावित क्षेत्रमा निरन्तर रोग निगरानी, बिरामीको समयमै पहिचान तथा उपचार, सुरक्षित खानेपानी, सरसफाइसम्बन्धी जनचेतना र विद्यालयस्तरमा स्वास्थ्य सावधानीलाई प्राथमिकता दिनुपर्ने देखिएको छ।
त्यस्तै, आवश्यकताअनुसार थप प्रयोगशाला परीक्षण गरी संक्रमणको वास्तविक कारण पहिचान गर्ने, बिरामीको अवस्था निरन्तर अनुगमन गर्ने तथा नयाँ बिरामी देखिने क्रमबारे नियमित सूचना संकलन गर्नुपर्ने आवश्यकता रहेको छ।
विद्यालय तथा समुदायमा ज्वरो, रुघाखोकीजस्ता लक्षण देखिएका व्यक्तिले स्वास्थ्यकर्मीको सल्लाह लिनु, पर्याप्त आराम तथा झोल पदार्थ सेवन गर्नु, खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्नु र व्यक्तिगत सरसफाइमा ध्यान दिनु आवश्यक देखिएको छ। ज्वरो अत्यधिक बढ्ने, श्वास फेर्न कठिन हुने, कमजोरी महसुस हुने, बेहोस हुने वा अन्य जटिल लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।
साथै, दुर्गम बस्तीमा नियमित स्वास्थ्य सेवा पुर्याउन बन्द रहेका स्वास्थ्य इकाइलाई नियमित सञ्चालनमा ल्याउने, स्वास्थ्यकर्मीको पहुँच तथा उपलब्धता बढाउने र आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न सके यस्ता स्वास्थ्य समस्याको समयमा स्थानीयले समयमै स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने देखिन्छ।
नौमुलेका यी दुर्गम बस्तीमा गरिएको चारदिने स्थलगत अध्ययनले एउटा महत्वपूर्ण कुरा स्पष्ट पारेको छ—स्वास्थ्य सेवा केवल स्वास्थ्य संस्था स्थापना गरेर मात्र पर्याप्त हुँदैन; दुर्गम बस्तीका नागरिकसम्म स्वास्थ्यकर्मी, औषधि, परीक्षण र आवश्यक स्वास्थ्य सूचना समयमै पुग्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यसका लागि स्वास्थ्य क्षेत्रसँगै सडक, सञ्चार, विद्युत् तथा अन्य आवश्यक पूर्वाधारको विकास र विस्तार पनि उत्तिकै जरुरी देखिन्छ।
(स्वास्थ्य सेवा कार्यालय, दैलेख)