काठमाडौं- भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरको पहिचान तथा उपचारका लागि आउने बिरामीको संख्या पछिल्ला दुई वर्षमा उल्लेख्य रूपमा बढेको छ। बिरामीको चाप तीव्र रूपमा बढे पनि अस्पतालको विद्यमान शय्या, भौतिक पूर्वाधार, उपचार उपकरण र जनशक्ति भने त्यसअनुसार विस्तार हुन नसक्दा सेवा व्यवस्थापनमा चुनौती थपिएको छ।
अस्पतालका अनुसार काठमाडौं उपत्यकाका भक्तपुर, काठमाडौं र ललितपुरसहित देशका विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीको संख्या पछिल्लो समय विगतको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार दुई वर्षअघिसम्म अस्पतालको बहिरंग सेवा (ओपिडी) मा वार्षिक ५० देखि ६० हजार बिरामी आउने गरेका थिए। तर पछिल्लो एक वर्षयता ओपिडीमा आउने बिरामीको संख्या वार्षिक एक लाखभन्दा बढी पुगेको छ। छोटो अवधिमै बिरामीको संख्या दोब्बरभन्दा बढी भएपछि अस्पतालको विद्यमान संरचनामाथि उपचारको चाप बढेको हो।
अस्पतालमा प्रत्येक वर्ष करिब चार हजार नयाँ क्यान्सरका बिरामी उपचारका लागि थपिने गरेका छन्। हाल अस्पतालमा १५० शय्या सञ्चालनमा छन्। बढ्दो बिरामी संख्याको तुलनामा शय्या तथा उपचारका लागि आवश्यक पूर्वाधार पर्याप्त नभएको अस्पतालले जनाएको छ।
त्यस्तै, अस्पतालमा रेडियोथेरापी सेवा लिने बिरामीको संख्या पनि वार्षिक एक हजारभन्दा बढी छ। क्यान्सर उपचारमा रेडियोथेरापी र केमोथेरापीजस्ता सेवा महत्त्वपूर्ण हुने भए पनि बिरामीको बढ्दो संख्याअनुसार उपकरण तथा सेवा विस्तार हुन नसक्दा अस्पतालले सीमित स्रोत-साधनबाटै सेवा सञ्चालन गरिरहेको छ।
बढ्दो उपचार मागलाई सम्बोधन गर्न अस्पतालको क्षमता विस्तार तत्काल आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। शनिबार आयोजित छलफलमा सहभागी जनप्रतिनिधि तथा स्वास्थ्य क्षेत्रका विज्ञ एवं सरोकारवालाहरूले अस्पतालको वर्तमान संरचनालाई समयअनुकूल विस्तार गर्दै दीर्घकालीन योजना अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।
छलफलमा अस्पताल विस्तारलाई छुट्टाछुट्टै वा टुक्रे योजनामा सीमित नगरी एकीकृत गुरुयोजनाका आधारमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरिएको थियो। अस्पतालको क्षमता विस्तार गर्दा थप शय्याको व्यवस्था मात्र नभई अत्याधुनिक उपचार उपकरण, रेडियोथेरापी तथा केमोथेरापी सेवा, प्रयोगशाला, आवश्यक भौतिक संरचना र दक्ष जनशक्तिको व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुपर्ने सहभागीहरूको भनाइ थियो।
अस्पतालको वर्तमान अवस्थादेखि दीर्घकालीन विकास योजनासम्मका विषयमा भएको अन्तरक्रियामा उपचार सेवाको गुणस्तर र पहुँच बढाउने विषयमा समेत छलफल भएको थियो। क्यान्सरको उपचार लामो समयसम्म चल्ने र आर्थिक रूपमा समेत महँगो हुने भएकाले पूर्वाधार विस्तारसँगै सर्वसाधारणलाई सहज, गुणस्तरीय र सुलभ उपचार उपलब्ध गराउनेतर्फ पनि राज्यले विशेष ध्यान दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
बिरामीको संख्या निरन्तर बढिरहेको अवस्थामा भक्तपुर क्यान्सर अस्पतालको क्षमता विस्तार अब विकल्प नभई आवश्यकता बन्दै गएको छ। त्यसका लागि पर्याप्त बजेट, आधुनिक उपकरण, दक्ष जनशक्ति र दीर्घकालीन गुरुयोजनासहित अस्पताल विकासको काम अघि बढाउनुपर्ने देखिएको छ।