काठमाडौं- निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा बोनम्यारो प्रत्यारोपण सेवा सुरु भएको एक दशक पूरा भएको छ। यही अवसरमा आयोजित कार्यक्रममा उपचारपछि नयाँ जीवन पाएका बिरामीहरूले आफ्ना अनुभव सुनाए। तीमध्ये एक थिए विधान भट्ट, जो एक दशकअघि कक्षा १० मा पढ्दै गर्दा बोनम्यारो प्रत्यारोपण गराएका थिए। अहिले भने उनी चिकित्सक बन्ने यात्राको अन्तिम चरणमा छन्।
सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु भएको १० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा भट्टको कथा धेरैका लागि प्रेरणादायी बन्यो। १० वर्षअघि आफैं उपचारका लागि अस्पताल पुगेका भट्ट अहिले चिकित्साशास्त्रको पढाइ पूरा गरी इन्टर्नसिपको अन्तिम दिनमा छन्।
भट्टले १० वर्षअघि कक्षा १० मा अध्ययन गरिरहेका बेला बोनम्यारो प्रत्यारोपण गराएका थिए। उपचारका क्रममा आफूले भोगेको समयलाई भने उनले अरूले सोचेजस्तो पीडादायी रूपमा सम्झँदैनन्। ‘त्यो बेला मलाई उपचारभन्दा पनि पढाइको चिन्ता थियो,’ भट्टले सम्झिए। कक्षा १० पछि कहाँ पढ्ने, कसरी पढ्ने भन्ने कुराले आफूलाई बढी चिन्तित बनाएको उनले बताए। उपचारलाई उनले पढाइसँगै थपिएको अर्को कामजस्तो मात्रै लिएको उनको भनाइ छ।
केमोथेरापी चलिरहेका बेला पनि भट्टले पढाइलाई निरन्तरता दिए। उनले ब्रिज कोर्स पढे र कक्षा ११ को परीक्षा पनि दिए। उपचारका कारण नियमित रूपमा कलेज जान नसके पनि पढाइप्रतिको रुचि भने कम भएन।
सानैदेखि पढाइमा अब्बल रहेका भट्टको डाक्टर बन्ने चाहना पनि पुरानै थियो। विद्यालयमा अध्ययन गर्दा नै चिकित्सक बन्ने लक्ष्य बनाएका उनले एसएलसी र प्लस टूमा राम्रो अंक ल्याए। त्यसपछि नेपालमै चिकित्सा शिक्षा अध्ययन गर्दै एमबीबीएस पूरा गरे।

‘मलाई दुखाइ वा उपचारले खासै रोकेको जस्तो लागेन। मलाई पढ्नु थियो,’ उनले भने, ‘स्कुल जान नपाउँदा दुःख लाग्थ्यो, तर जान मिल्यो भने पढ्थें।’
बोनम्यारो प्रत्यारोपणपछि बितेको १० वर्षलाई भट्टले उपलब्धिपूर्ण रूपमा लिएका छन्। उपचारपछि सामान्य जीवनमा फर्किएका उनले पछिल्लो दशकमा विभिन्न ठाउँको भ्रमणसँगै आफ्ना रुचिहरूलाई पनि निरन्तरता दिएका छन्।
उनका अनुसार पछिल्लो १० वर्षमा उनले १० वटा ट्रेक गरेका छन्। बेसक्याम्पदेखि विभिन्न पदयात्रा मार्गमा पुगेका उनले कन्सर्टमा सहभागी हुन पनि रुचि राख्छन्। ‘१० वर्षमा १० वटा ट्रेक र १० वटा कन्सर्ट गरेँ,’ उनले सुनाए।
एक दशकअघि बिरामीका रूपमा अस्पताल पुगेका भट्ट अहिले आफैं चिकित्सक बन्ने चरणमा पुग्नु बोनम्यारो प्रत्यारोपण सेवाबाट प्राप्त जीवनको अर्को उदाहरण बनेको छ।
सिभिल अस्पतालमा २३३ जनाको बोनम्यारो प्रत्यारोपण
सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालन भएको १० वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बोनम्यारो प्रत्यारोपणपछि स्वस्थ जीवनमा फर्किएका बिरामीहरूले उपचारका क्रममा भोगेका अनुभव तथा त्यसपछिको जीवनबारे आफ्ना कथा सुनाएका थिए।
कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी र उपचारबाट लाभान्वित बिरामीबीच उपचारका अनुभव तथा सेवाका उपलब्धिबारे अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले नेपालमै बोनम्यारो प्रत्यारोपणजस्तो जटिल उपचार सेवा उपलब्ध हुन थालेपछि उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम भएको बताए।
सिभिल अस्पतालको क्लिनिकल हेमाटोलोजी तथा बोनम्यारो ट्रान्सप्लान्ट डा. विशेष पौडेलको नेतृत्वमा नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालन हुँदै आएको छ। अस्पतालमा सन् २०१६ मा पहिलो सफल बोनम्यारो प्रत्यारोपण गरिएको थियो।

डा. पौडेलका अनुसार सन् २०१२ देखि हालसम्म उनको नेतृत्वमा नेपालमै २३३ जनाको बोनम्यारो प्रत्यारोपण गरिएको छ। उनी हाल सिभिल अस्पतालको हेमाटोलोजी तथा बोनम्यारो ट्रान्सप्लान्ट सेवामा कार्यरत छन्।
सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु हुँदा यो नेपालका सरकारी अस्पतालमध्ये पहिलो सेवा थियो।
दशौँ वर्षको अवसरमा आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा. जीतेन्द्र परियार, नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, पूर्वनिर्देशक डा. बिमल थापा, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन पियालगायतको उपस्थिति थियो।
कार्यक्रममा बोनम्यारो प्रत्यारोपण सेवाका उपलब्धि, उपचारका क्रममा प्राप्त अनुभव तथा आगामी दिनमा सेवा विस्तार र गुणस्तर सुधारका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले थप बिरामीलाई स्वदेशमै गुणस्तरीय बोनम्यारो प्रत्यारोपण सेवा उपलब्ध गराउन सेवा विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।