काठमाडौं- ब्लुक्रस अस्पतालले नवनिर्मित भवनबाट बहिरंग सेवा (ओपीडी) सञ्चालनमा ल्याएको छ। अस्पतालले आधुनिक तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले नयाँ भवनबाट विभिन्न विशेषज्ञ ओपीडीसहित परीक्षण तथा उपचारसम्बन्धी सेवा सुरु गरेको जनाएको छ।
नयाँ भवनको पहिलो तलामा प्रोसीजर, अल्ट्रासाउन्ड, स्याम्पल कलेक्सन, ईसीजी, टीएमटी, होल्टर, एबीपी, इकोकार्डियोग्राफी, इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा सञ्चालनमा ल्याइएको छ। दोस्रोदेखि चौथो तलासम्म विभिन्न विधाका विशेषज्ञ चिकित्सकबाट ओपीडी सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ। त्यस्तै, छैटौं तलामा फिजियोथेरापी सेवा पनि सञ्चालनमा आएको छ।
ब्लुक्रस अस्पतालका फाइनान्स डाइरेक्टर सतिदेवि गौतमका अनुसार नयाँ भवनबाट सेवा विस्तारसँगै बिरामीलाई एउटै स्थानबाट विभिन्न विशेषज्ञ परामर्श, परीक्षण तथा उपचार सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।

ब्लुक्रस अस्पताल बहुविशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको निजी स्वास्थ्य संस्था हो। ‘सुरक्षित, स्तरीय र सन्तोषजनक स्वास्थ्य सेवामार्फत राष्ट्रको स्वास्थ्यमा सहभागिता’ भन्ने उद्देश्यसहित अस्पताल सन् १९९१ मा स्थापना भएको हो।
स्थापनाकालमा निजी क्षेत्रबाट पहिलोपटक कनभेन्सनल कम्प्युटराइज्ड टोमोग्राफी (सीटी) स्क्यान सेवा सुरु गरेको अस्पतालले क्रमशः पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरका रूपमा सेवा विस्तार गरेको थियो। अस्पतालमा प्याथोलोजी, एक्सरे, अल्ट्रासाउन्ड, कार्डियोलोजिकल तथा न्युरोलोजिकल परीक्षणसँगै एमआरआई, हेमोडायलाइसिसलगायतका सेवा उपलब्ध छन्।
ब्लुक्रस अस्पतालमा ५० शय्याको जनरल बेड तथा क्याबिन, भेन्टिलेटरसहितको आईसीयू, एनआईसीयू–पीआईसीयू, ल्याप्रोस्कोपिक, एन्डोयुरोलोजी तथा अर्थोपेडिक शल्यक्रियाका लागि आधुनिक अप्रेसन थिएटर र आकस्मिक सेवा सञ्चालनमा छन्। अस्पतालले वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकमार्फत तृतीय तहको स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ।