काठमाडौं — त्रिवि शिक्षण अस्पतालमा गर्भमै रहेको बच्चामा देखिएको एनिमिया (रगतको कमी) को सफल उपचार गरिएको छ। चिकित्सकका अनुसार नेपालमा गर्भमै रहेको बच्चाको एनिमियाको उपचार गरिएको यो पहिलो घटना हो।
६ महिनाको गर्भवती महिलाको नियमित अल्ट्रासाउन्डका क्रममा गर्भमा रहेको बच्चामा रगतको कमी भएको पत्ता लागेको रेडियोलोजिस्ट डा. प्रदीप राज रेग्मीले जानकारी दिए। समस्या पहिचान भएपछि साल (प्लासेण्टा) बाट रगत निकालेर परीक्षण गरिएको थियो।
परीक्षणबाट बच्चामा एनिमिया पुष्टि भएपछि सालकै माध्यमबाट ओ नेगेटिभ रक्त चढाएर उपचार गरिएको डा. रेग्मीले बताए। उनका अनुसार उपचार सफल भएपछि अहिले गर्भमा रहेको बच्चा आठ महिनाको भइसकेको छ।
डा. रेग्मीका अनुसार आमाको पटक–पटक गर्भ खेर गएको अवस्थामा गर्भमा रहेको बच्चामा एनिमिया हुने जोखिम हुन सक्छ। त्यस्तै, वंशाणुगत कारणले पनि यस्तो समस्या हुन सक्ने र आमामा एनिमिया भए त्यसको असर गर्भमा रहेको बच्चामा समेत पर्न सक्ने उनले बताए।
उपचारमा डा. रेग्मीसहित रेडियोलोजी एन्ड इन्टरभेन्सन विभागका डा. दिनेश चटौत, एनेस्थेसिया, मेडिसिन तथा प्रसूति विभागका चिकित्सक र स्वास्थ्यकर्मी सहभागी थिए।
चिकित्सकहरूका अनुसार गर्भमै रहेको बच्चाको स्वास्थ्य अवस्था पहिचान गरी आवश्यक अवस्थामा सालको माध्यमबाट उपचार गर्न सकिने यो विधि जटिल अवस्थाका गर्भवती र गर्भमा रहेका बच्चाको उपचारमा महत्वपूर्ण हुन सक्छ।