काठमाडौं – सरकारसँग भएको सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले पुनः आमरण अनशन बस्ने चेतावनी दिएका छन्।
एमबीबीएस/बीडीएस इन्टर्न निर्वाह भत्ता आन्दोलनका संयोजक एवं यसअघि अनशनरत चिकित्सक डा. डिल्ली हरिजनले विज्ञप्ति जारी गर्दै पूर्वसहमतिअनुसार तत्काल चिकित्सा शिक्षा आयोगको ‘फुल हाउस’ बैठक बोलाएर आवश्यक निर्णय गरी सहमति कार्यान्वयन गर्न माग गरेका हुन्।
आन्दोलनरत चिकित्सकहरूले अस्पतालमा तोकिएको कार्यसमय, रात्रिकालीन सेवा तथा अतिरिक्त कार्यबोझलाई ध्यानमा राख्दै इन्टर्न चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहको सुरु तलब स्केलको ५० प्रतिशत निर्वाह भत्ता उपलब्ध गराउन कार्यदलले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।
यस्तै, श्रम ऐन, २०७४ को दफा २८ बमोजिम सरकारी तथा निजी चिकित्सा शिक्षण संस्थामा आवासीय तथा इन्टर्न चिकित्सकको कार्यघण्टा समान रूपमा लागू गर्नुपर्ने उनीहरूको माग छ।
सरकारी तथा निजी मेडिकल कलेजले स्वीकृत शुल्कबाहेक अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने माग पनि चिकित्सकहरूले अघि सारेका छन्। यसका लागि २०७९ वैशाख २१ गते जारी गरिएको परिपत्रलाई पूर्ण रूपमा लागू गर्न उनीहरूले आग्रह गरेका छन्। त्यसैगरी, विद्यार्थीका लागि छात्रावाससम्बन्धी ऐच्छिक व्यवस्था सरकारी र निजी दुवै क्षेत्रका मेडिकल कलेजमा समान रूपमा लागू गर्नुपर्ने मागसमेत उनीहरूको छ।
यसअघि सम्बन्धित निकायमा पदाधिकारी अभावलाई कारण देखाउँदै निर्णय प्रक्रिया लम्ब्याइएको भए पनि हाल सबै निकायमा पदाधिकारी नियुक्त भइसकेको उनीहरूको भनाइ छ। त्यसैले अब पनि निर्णय कार्यान्वयनमा ढिलाइ गरिए पुनः कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी चिकित्सकहरूले दिएका छन्।
आन्दोलनरत चिकित्सकहरूले आफूहरूले उठाएका मागप्रति सरकार गम्भीर बन्नुपर्ने भन्दै पूर्वसहमति कार्यान्वयनका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
