काठमाडौं -रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउँदै सरकारले स्वास्थ्य सेवा व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेको छ। बाढी प्रभावित क्षेत्रमा मेडिकल टिम, अतिरिक्त एम्बुलेन्स र स्वास्थ्य जनशक्ति पठाउने प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री बालेनले बताएका छन्।
उनका अनुसार विपद् व्यवस्थापन प्राधिकरण सक्रिय भइसकेको छ। मेडिकल टिम, नेपाल स्काउट, रेडक्रस लगायतका निकायसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य तथा मानवीय सहायता पुर्याउने काम सुरु गरिएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा अवरुद्ध हुन सक्ने तथा घाइते र बिरामीलाई तत्काल उपचार आवश्यक पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको उनले बताएका छन्।
यस्तै, तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ। स्थानीय बासिन्दालाई एसएमएस तथा फोनमार्फत जोखिमबारे जानकारी गराउँदै सुरक्षित स्थानमा जान अलर्ट गरिएको प्रधानमन्त्रीको भनाइ छ।
सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकप्टरलाई प्रभावित क्षेत्रतर्फ पठाइएको र निजी हेलिकप्टर कम्पनीलाई समेत हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको छ। केही निजी हेलिकप्टरसमेत प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेका छन्।
बाढीपछि आगामी आवश्यक कदमबारे निर्णय गर्न उच्चस्तरीय बैठकसमेत बोलाइएको प्रधानमन्त्रीले बताएका छन्। उनले प्रभावित तथा जोखिममा रहेका सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित सरकारी निकायबाट जारी हुने उद्धार तथा राहतसम्बन्धी अपडेट कुर्न आग्रह गरेका छन्।
उद्धार, स्वास्थ्य सेवा तथा राहतसम्बन्धी थप जानकारीका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।