काठमाडौं- भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रका घाइतेहरूको आपत्कालीन उपचारका लागि काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूसहित अन्य सहयोगी निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालका प्रमुखहरूसँग कुराकानी गर्दै घाइतेहरूको उपचारका लागि आवश्यक तयारी गर्न कडा निर्देशन दिएकी हुन्। मन्त्रीको निर्देशनलगत्तै काठमाडौंका राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल (टिचिङ) र नेपाल प्रहरी अस्पताललाई ‘स्ट्यान्डबाइ’ राखिएको छ भने घाइतेहरूका लागि १०० भन्दा बढी बेडहरू खाली गराइएको छ।
उपचार तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अस्पतालहरूसँगै नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लब जस्ता सामाजिक संस्थाहरूलाई पनि तम्तयार रहन भनिएको छ। साथै, उपचारका क्रममा हुनसक्ने रगतको सम्भावित अभावलाई मध्यनजर गर्दै उपत्यकाका ब्लड बैंकहरूलाई समेत उच्च सतर्कतामा रहन निर्देशन भइसकेको छ।
यसअघि नै राष्ट्रिय ट्रमा सेन्टरबाट डा. विवेक भण्डारी, डा. राकेश मिश्र, डा. सुरेन्द्र महर्जन, डा. अविनाश कार्की, डा. विप्लव शर्मा, डा. सुदीप कोइराला, नर्स साधना भट्टराई र नर्स सरस्वती लामा सम्मिलित विशेषज्ञ मेडिकल टोली नुवाकोटको त्रिशुली क्षेत्रतर्फ प्रस्थान गरिसकेको छ। काठमाडौं ल्याइने गम्भीर घाइतेहरूको शीघ्र उपचारका लागि अस्पतालहरूमा इमर्जेन्सी ड्युटी, शल्यक्रिया कक्ष र सघन उपचार कक्ष पूर्ण रूपमा तयारी अवस्थामा राखिएका छन्।