काठमाडौं- चीनको तिब्बत हुँदै त्रिशूली नदीमा आएको भीषण बाढी तथा पहिरोका कारण नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि नेपाल मेडिकल काउन्सिलले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उद्धार, उपचार र स्वास्थ्य सेवामा सक्रिय सहभागी हुन आह्वान गरेको छ।
काउन्सिलले बुधबार विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, प्राथमिक उपचार, आकस्मिक उपचार तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सकीय तथा मानवीय दायित्वका साथ परिचालित हुन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेको हो।
काउन्सिलले विपद्का कारण थप मानवीय तथा भौतिक क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवाको आवश्यकता रहेको जनाएको छ।
विज्ञप्तिमा बाढी तथा पहिरोपछि उत्पन्न हुन सक्ने अल्पकालीन र दीर्घकालीन स्वास्थ्य जोखिमप्रति समेत सचेत रहन आग्रह गरिएको छ। घाइते तथा विस्थापित नागरिकमा उपचार, सरसफाइ र सुरक्षित खानेपानीको अभाव, संक्रामक रोगको सम्भावित प्रकोप, मानसिक स्वास्थ्यमा पर्न सक्ने असरलगायत चुनौतीको समयमै आकलन गरी आवश्यक रोकथाम तथा उपचारात्मक उपाय अपनाउन काउन्सिलले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ।
नेपाल मेडिकल काउन्सिलले विपद्को कठिन घडीमा चिकित्सकीय सेवा, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वका साथ प्रभावित नागरिकको जीवनरक्षा तथा स्वास्थ्य संरक्षणमा एकजुट भएर योगदान गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपिल गरेको छ।
काउन्सिलका रजिष्ट्रारद्वारा जारी विज्ञप्तिमा विपद् प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग र सेवामा सक्रिय हुन आग्रह गरिएको छ।