काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको छ ।
संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २४ स्क्वायर मिटरको १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागेको जनाइएको छ ।
मन्त्रालयले बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको जनाएको छ । साथै हालसम्म तीन जना घाइतेहरुलाई उद्धार गरी काठमाडौँ ल्याइसकिएको पनि मन्त्रालयको भनाइ छ ।
साथै काठमाडौँस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स, नेपाल स्काउटसँग पनि आपतकालीन स्वास्थ्य सेवाका लागि समन्वय भइरहेको जनाइएको छ ।