काठमाडौं - बाढीका कारण घाइते भएकाहरूको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले आवश्यक तयारी थालेको छ। रसुवालगायत बाढी प्रभावित क्षेत्रबाट घाइतेहरू ल्याउनुपर्ने सम्भावनालाई ध्यानमा राख्दै अस्पतालले स्वास्थ्यकर्मी तथा आवश्यक स्रोतसाधन तयारी अवस्थामा राखेको हो।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा दुई चिकित्सक र एक प्यारामेडिकसहित तीन सदस्यीय टोली उद्धार कार्यका लागि परिचालन गरिएको छ। हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले टोलीलाई तयारी अवस्थामा राखिएको उनले बताए।
‘मन्त्रालयले चिकित्सक पठाइदिन आग्रह गरेपछि दुई जना डाक्टर र एक जना प्यारामेडिक पठाएका छौँ,’ सेढाईंले भने।
हालसम्म रसुवाबाट कुनै पनि घाइते उपचारका लागि त्रिवि शिक्षण अस्पताल आइपुगेका छैनन्। यद्यपि, बाढीका कारण घाइतेको संख्या बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालले ‘डिजास्टर कोड’ सक्रिय गरेको छ।
ठूलो संख्यामा घाइते अस्पताल आइपुगे तत्काल उपचार व्यवस्थापन गर्न सकियोस् भनेर चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ।
अस्पतालले आकस्मिक कक्षमा रहेका बिरामीको अवस्थासमेत पुनरावलोकन गर्न थालेको छ। भर्ना गर्नुपर्ने बिरामीलाई वार्डमा सार्ने तथा डिस्चार्ज गर्न मिल्ने बिरामीलाई डिस्चार्ज गर्ने प्रक्रिया अघि बढाइएको छ। यसबाट आकस्मिक उपचारका लागि थप स्थान खाली गराउने प्रयास भइरहेको अस्पतालले जनाएको छ।
डा. सेढाईंका अनुसार अस्पतालको विपद् व्यवस्थापन योजनाअनुसार एकैपटक करिब १०० जना बिरामीलाई व्यवस्थापन गर्न सक्ने क्षमता छ। सोही योजनाअनुसार आवश्यक औषधि, उपचार सामग्री, उपकरण तथा अन्य स्रोतसाधन तयारी अवस्थामा राखिएको उनले बताए।