काठमाडौं- भोटेकोसी नदीको बाढी र पहिरोका कारण प्रभावित भएका क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पुर्याउन नेपाल चिकित्सक संघले उच्च सतर्कताका साथ तयारी अगाडि बढाएको छ।
संघले बाढी प्रभावित नागरिकहरूको उपचारका लागि आवश्यक विशेषज्ञ चिकित्सक र जीवनरक्षक स्वास्थ्य सामग्रीसहितको विशेष मेडिकल टोली ‘स्ट्यान्डबाइ’ (तैयारी अवस्थामा) राखिएको जनाएको छ। प्रभावित क्षेत्रमा टोली खटाउन र द्रुत उपचार सेवा व्यवस्थापनका लागि हाल नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको संघले जानकारी दिएको छ।
'उपचारका लागि आवश्यक चिकित्सक र स्वास्थ्य सामाग्री सहितको चिकित्सकको टोलि तयारी अवस्थामा रहेको र नेपाल सरकारसंग समन्वय भइरहेको जानकारी गराउदछौ। साथै सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई यस विपद्मा तयारी अवस्थामा रहन र आ–आफ्नो क्षेत्रबाट सेवामा संलग्न रहनु हुन समेत हार्दिक अनुरोध गर्दछौं,' संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
गम्भीर घाइतेहरूको उद्धार, प्राथमिक उपचार तथा सम्भावित स्वास्थ्य जोखिम नियन्त्रणका लागि सरकारी निकायहरूसँगको सहकार्यमा टोलीलाई प्रभावित स्थलतर्फ परिचालन गर्ने तयारी भइरहेको संघले जनाएको छ।
संघले प्रभावित क्षेत्रमा सहयोग गर्न चिकित्सकहरुलाई आह्वान पनि गरेको छ। 'बाढी पहिरो पश्चात आउन सक्ने सम्भावित महामारीमा आवश्यक समन्वय र सहयोग गर्नका लागि तयार अवस्थामा रहन नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरुसहित सम्पूर्ण चिकित्सकहरुलाई आह्वान गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।
हेरौं विज्ञप्तिको पूर्णपाठ
आज मिति २०८३ भाद्र १० गते भोटेकोशी नदिमा ठुलो बाढी आई रसुवा, धादिङ, नुवाकोट, गोरखा र चितवन जस्ता विभिन्न स्थानमा बाढी पहिरो गई जन धन को क्षति भएको र धेरै संख्यामा नागरिकहरु विस्थापित हुन पुगेको घटनाप्रति नेपाल चिकित्सक संघ गहिरो दुःख र चिन्ता व्यक्त गर्दछ साथै यस प्राकृतिक प्रकोपमा ज्यान गुमाउने सम्पूर्ण नागरिकहरुप्रति समवेदना प्रकट गर्दछ।
बाढी पहिरोको कारण उद्धारको पर्खाइमा रहेका मानिसहरुको तुरुन्त उद्धार गर्न नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौ र उपचारका लागि आवश्यक चिकित्सक र स्वास्थ्य सामाग्री सहितको चिकित्सकको टोलि तयारी अवस्थामा रहेको र नेपाल सरकारसंग समन्वय भइरहेको जानकारी गराउदछौ। साथै सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई यस विपद्मा तयारी अवस्थामा रहन र आ–आफ्नो क्षेत्रबाट सेवामा संलग्न रहनु हुन समेत हार्दिक अनुरोध गर्दछौ।
बाढी पहिरो पश्चात आउन सक्ने सम्भावित महामारीमा आवश्यक समन्वय र सहयोग गर्नका लागि तयार अवस्थामा रहन नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरुसहित सम्पूर्ण चिकित्सकहरुलाई आह्वान गर्दछौ। यस मानवीय कार्यमा सहयोग गर्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न संघ संस्था, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण आम नागरिकमा हार्दिक आग्रह गर्दछौ।
भवदीय,
डा. बद्रि रिजाल
अध्यक्ष
डा. विश्व राज दवाडी
महासचिव