काठमाडौं — भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका १४ जनालाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ। उनीहरूलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोकायाका अनुसार हालसम्म १४ जना घाइते अस्पताल आइपुगेका छन्। घाइतेमध्ये एक जना तीन वर्षका बालकसमेत छन्।
अस्पतालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ। अन्य घाइतेको अवस्था भने तुलनात्मक रूपमा सामान्य रहेको अस्पतालले जनाएको छ।
बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीले रसुवालगायत प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। बाढीमा परी हालसम्म सात जनाको शव भेटिएको छ भने कयौं व्यक्ति घाइते भएका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले घाइते तथा अन्य प्रभावितलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने क्रम जारी रहेको छ।