काठमाडौं- तिब्बततर्फबाट आएको बाढीका कारण रसुवाको भोटेकोशी तथा आसपासका क्षेत्रमा भएको जनधनको क्षतिप्रति एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले दुःख व्यक्त गर्दै आफ्ना सदस्यहरुलाई उपचारमा सहयोग गर्न अपिल गरेको छ। अफिनले बुधबार बिहान आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
अफिनका अध्यक्ष डा. पदमबहादुर खड्काले प्रभावित क्षेत्रमा रहेका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मानवीय सेवामा सहयोग गर्न निजी स्वास्थ्य संस्थाहरूलाई अपिल गरेका हुन्।
उनले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका घाइतेलाई उपचारमा सहयोग गर्न एपीएचिनमा आबद्ध निजी स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेका छन्।
अफिनले विपद्को समयमा घाइते तथा प्रभावित नागरिकको उपचारलाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग र मानवीय सेवामा जुट्न निजी स्वास्थ्य संस्थाहरूलाई आह्वान गरेको हो।
अफिनले जारी गरेको अपिलमा बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको स्वास्थ्य उपचारमा निजी स्वास्थ्य क्षेत्रले आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।
