काठमाडौं- भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका घाइते नागरिकको काठमाडौँ मेडिकल कलेज (केएमसी) दुवाकोट अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ।
काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीमा परी घाइते भएका बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको हो। विषम परिस्थितिमा घाइतेको उपचारमा सहयोग पुर्याउने उद्देश्यले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा आवश्यक उपचारको व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।
केएमसीले विभिन्न परिस्थितिमा अशक्त तथा घाइते बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ। आर्थिक अभाव वा विपद्का कारण उपचारमा समस्या परेका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले अस्पतालले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवामूलक कार्यहरू गर्दै आएको छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल उपचार आवश्यक पर्ने घाइतेको सङ्ख्या बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै केएमसी दुवाकोटले अस्पतालमा उपचारका लागि आउने बाढीपीडित घाइतेलाई सहज रूपमा सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ।
अस्पतालले बाढीबाट प्रभावित बिरामीलाई उपचारका लागि केएमसी दुवाकोट, भक्तपुरमा ल्याउन आग्रह गरेको छ। साथै, घाइते बिरामीलाई अस्पतालसम्म पुर्याउन सचेत नागरिक, संघसंस्था तथा सहयोगी महानुभावहरूलाई सहजीकरण गरिदिन अनुरोधसमेत गरेको छ।
अस्पतालका अनुसार बाढी प्रभावित घाइतेको उपचारमा औषधि तथा औषधिजन्य सामग्रीबाहेक अस्पतालमा उपलब्ध सम्पूर्ण उपचार सेवा निःशुल्क हुनेछ। यसले विपद्का कारण घाइते भएका नागरिकलाई तत्काल आवश्यक स्वास्थ्य उपचार उपलब्ध गराउन ठूलो सहयोग पुग्ने अपेक्षा अस्पतालको छ।
केएमसीका प्रशासन प्रमुख नारायणप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा बाढीबाट प्रभावित बिरामीलाई उपचारका लागि दुवाकोट अस्पतालमा ल्याई निःशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरिएको छ।