काठमाडौं — प्रधानमन्त्री बालेन शाहले देशले अकल्पनीय विपत्तिको सामना गरिरहेको भन्दै सरकार यथाशीघ्र उद्धार तथा राहतमा जुटिरहेको बताएका छन्। उनले विपत्तिको सामना गर्न सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार आज बिहान ६ः३० बजेदेखि उद्धारका लागि हवाई उडान सुरु गरिएको छ। बिहानदेखि हालसम्म १५ भन्दा बढी उडान भइसकेको र थप हेलिकोप्टरहरू उद्धारका लागि तयारी अवस्थामा राखिएको उनले बताएका छन्।
नेपाली सेनाले बिहान सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेको उनले बताए। त्यस्तै, टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको उनले उल्लेख गरेका छन्।
प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्री द्रुत रूपमा पुर्याउने काम भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्। प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुङ्गा काट्ने मेसिनलगायतका सामग्री पठाइँदै गरिएको उनको भनाइ छ।
मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङका लागि अस्थायी व्यवस्था छिट्टै सञ्चालनमा ल्याइने उनले बताएका छन्। यसबाट प्रभावित क्षेत्रमा सम्पर्क स्थापित गर्न सहज हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहका अनुसार नुवाकोटमा अस्थायी शिविरसमेत तयार पारिएको छ। शिविरमा खाना र पानीको व्यवस्था गरिएको उनले जानकारी दिए।
प्रभावित क्षेत्रको अवस्थाबारे ड्रोन सर्वेक्षणमार्फत सूचना सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको पनि प्रधानमन्त्री शाहले बताएका छन्। ड्रोन सर्वेबाट प्राप्त विवरणले उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
उद्धारका क्रममा हेलिकोप्टरमा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने प्रधानमन्त्री शाहले बताएका छन्। उनले विपद्को घडीमा प्रभावित नागरिकलाई धैर्य र संयम कायम राख्दै उद्धार तथा राहतको प्रतीक्षा गर्न आग्रह गरेका छन्।
“यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन्,” प्रधानमन्त्री शाहले भनेका छन्।
उनले विपत्तिको सामना गर्न सिङ्गो देश, विश्वभर रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन्। विपत्तिको सामना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने भन्दै प्रधानमन्त्री शाहले उद्धार तथा राहतमा सहयोग गर्ने सबैप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।