काठमाडौं - बाढीका कारण मृत्यु भएकाहरूको शव धमाधम फेला पर्न थालेपछि चितवनमा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। चितवन प्रहरीले हालसम्म जिल्लाका विभिन्न स्थानबाट ६४ वटा शव फेला परेको जनाएको छ।
चितवन प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार शव खोजी कार्य अझै जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने प्रारम्भिक आकलन गरिएको छ।
शवको संख्या बढ्दै गए पनि जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूको शव राख्ने क्षमता सीमित रहेको प्रहरीले जनाएको छ। स्वास्थ्य संस्थाहरूले अधिकतम ५० वटा शव मात्र राख्न सक्ने जानकारी प्रहरीलाई गराएका छन्। हाल फेला परेका शवको संख्या नै अस्पताल तथा स्वास्थ्य संस्थाको क्षमताभन्दा बढी भएपछि व्यवस्थापनमा समस्या देखिएको हो।
चितवन प्रहरीले शव खोजी कार्य जारी रहेको र शव राख्ने स्थानको अभाव भएकाले आपतकालीन व्यवस्थापनको रणनीतिअनुसार शवको सुरक्षा तथा व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको जनाएको छ।
प्रहरीले बाढी तथा विपद्को अवस्थामा शव फेला परेमा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ। साथै मृतकका विभत्स तस्बिर तथा दृश्यहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सम्प्रेषण नगर्न पनि प्रहरीले अपिल गरेको छ।
यस्ता संवेदनशील तस्बिर तथा दृश्य सार्वजनिक गर्दा मृतकका परिवारजनसहित सर्वसाधारणमा थप तनाव, त्रास र आतंक सिर्जना हुनसक्ने भन्दै प्रहरीले संयम अपनाउन आग्रह गरेको हो।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा शव खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने र शव व्यवस्थापनका लागि थप स्थान तथा आवश्यक व्यवस्थापन तत्काल गर्नुपर्ने अवस्था देखिएको छ।