हेटौंडा - बागमती प्रदेश सरकारले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा घाइते नागरिकका लागि प्रदेशअन्तर्गतका प्रादेशिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको छ।
प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका घाइते तथा बिरामीलाई नजिकको प्रादेशिक अस्पतालमा सम्पर्क गरी निःशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरेको हो।
मन्त्रालयले बाढीका कारण प्रभावित तथा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।
विपद्का कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रदेश सरकारले घाइते तथा प्रभावित नागरिकलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।
मन्त्रालयले प्रभावित क्षेत्रमा रहेका नागरिकलाई स्वास्थ्यसम्बन्धी समस्या देखिएमा ढिलाइ नगरी नजिकको प्रादेशिक अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ।