काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोसी नदीमा आएको भीषण बाढीबाट घाइते भई अस्पतालमा उपचाररत नागरिकलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
आङ्देम्बेले बुधबार राति काठमाडौंस्थित ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पताल पुगेर बाढीमा परी घाइते भएका नागरिकलाई भेटेका हुन्। भेटका क्रममा उनले घाइतेहरूको स्वास्थ्य अवस्था, उपचारको स्थिति तथा अस्पतालले उपलब्ध गराइरहेको स्वास्थ्य सेवाबारे जानकारी लिए।
घाइतेहरूको अवस्था बुझेपछि आङ्देम्बेले विपद्को समयमा उपचारमा कुनै किसिमको कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराए। उनले बाढीबाट घाइते भएका नागरिकको जीवनरक्षा र उपचारलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
उनले घाइतेहरूको उपचारका लागि आवश्यक औषधि, स्वास्थ्य सेवा तथा अन्य व्यवस्थापनमा कुनै समस्या देखिए तत्काल समाधान गर्न सरकारसँग आग्रह गरे।
‘विपद्को यो समयमा घाइतेहरूको उपचारमा कुनै कमी हुनु हुँदैन। राज्यले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेर नागरिकको जीवनरक्षा र उपचारलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,’ आङ्देम्बेले भने।
उनले बाढी प्रभावितको उद्धार, राहत तथा उपचारका लागि सरकारलाई आवश्यक सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको समेत बताए।