काठमाडौं - भोटेकोसी बाढीका कारण घाइते भएकाहरु उपचारका लागि त्रिशुली अस्पतालमा आउने क्रम जारी रहेको छ।
यसअघि १६ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको थप एक जना गम्भीर अवस्थाका घाइते थपिएसँगै उपचारत घाइते संख्या १७ पुगेको जसमा ३ जनाको अवस्था गम्भीर रहेको त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाले स्वास्थ्यखबरलाई बताए।
अझै हेलिप्याडमार्फत् घाइते ल्याउने क्रम जारी रहेको उनले बताए। घाइतेहरुलाई विभिन्न समुहमा राखेर उपचार गरिएको छ। अस्पतालमा हाल करिब १५–१६ जना विशेषज्ञ चिकित्सक र सोही संख्यामा मेडिकल अफिसर निरन्तर उपचार सेवामा खटिएका छन्। बाढी प्रभावित क्षेत्रबाट घाइते ल्याउने क्रम जारी रहे पनि सडक तथा यातायात अवरुद्ध हुँदा अस्पतालसम्म घाइते ल्याउन समस्या भइरहेकोले हेलिप्याडमार्फत् घाइते ल्याउने क्रम जारी रहेको डा लामाले बताए।
उनका अनुसार विद्युत् अवरोध भए पनि हालसम्म अस्पतालको उपलब्ध स्रोत–साधनबाट घाइतेको उपचार तथा आवश्यक शल्यक्रिया गर्न समस्या परेको छैन। त्रिशूली अस्पतालको एकपटकमा करिब ५० जनासम्म घाइतेलाई उपचार सेवा दिन सक्ने क्षमता रहेको उनले बताए।
‘अहिलेसम्म अस्पतालको स्रोत–साधनले सेवा प्रवाह गर्न भ्याइरहेको छ,’ डा लामाले भने, ‘तर घाइतेको संख्या बढ्दै जाँदा संघ र प्रदेश सरकारसँग आवश्यक सहयोगका लागि समन्वय गरिरहेका छौँ।’उद्धार कार्य अघि बढ्दै जाँदा घाइतेको संख्या अझै बढ्न सक्ने अस्पतालको अनुमान छ।
‘उद्धारको क्रम जारी छ,’ डा. लामाले भने, ‘अझै कति घाइते अस्पताल आइपुग्छन् भन्ने अहिले नै भन्न सकिने अवस्था छैन।’