काठमाडौं- नेपाल औषधि उत्पादक संघले हालैको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीको पर्याप्त, नियमित र निर्बाध आपूर्ति सुनिश्चित गर्न स्वदेशी औषधि उद्योगहरू प्रतिबद्ध रहेको जनाएको छ।
संघले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकप्रति गहिरो ऐक्यबद्धता व्यक्त गर्दै विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना गर्दै संघले घाइते, विस्थापित तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको शुभेच्छा व्यक्त गरेको छ।
बाढी तथा पहिरोले घर-बस्ती, सडक, पुल, विद्युत्, सञ्चार, उद्योग-व्यवसाय, व्यापारिक संरचना, भन्सार तथा अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीमा समेत असर पारेको भन्दै संघले खोज तथा उद्धार, राहत, उपचार र पुनःस्थापनाका कामलाई तीव्र, व्यवस्थित र प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
संघका अनुसार औषधि मानव जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तु भएकाले प्रभावित क्षेत्रको स्वास्थ्य आवश्यकता तत्काल पहिचान गरी आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति सहज बनाउन स्वदेशी औषधि उद्योग राज्य र नागरिकसँग सहकार्य गर्न तयार छन्।
त्यस्तै, विपद्बाट प्रभावित उद्योगी, व्यवसायी, श्रमिक, कृषक तथा सर्वसाधारणको वास्तविक क्षतिको यथाशीघ्र मूल्याङ्कन गरी राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि विशेष आर्थिक तथा नीतिगत प्याकेज ल्याउन पनि संघले सरकारसँग माग गरेको छ।
संघले विपद्लाई सम्पूर्ण राष्ट्रको साझा पीडा भन्दै पीडितको जीवनरक्षा तथा प्रभावित परिवार र व्यवसायको पुनःस्थापना राज्य, निजी क्षेत्र र समाज सबैको साझा दायित्व भएको जनाएको छ।
‘विपद्मा पीडितका साथमा राज्य, निजी क्षेत्र र सम्पूर्ण समाज’ भन्ने भावनाका साथ सबै नेपालीलाई आ-आफ्नो ठाउँबाट खोज तथा उद्धार, राहत, उपचार, औषधि आपूर्ति र पुनःस्थापनाका कार्यमा योगदान गर्न संघले आह्वानसमेत गरेको छ।
संघका अध्यक्ष विप्लव अधिकारी र महासचिव सन्तोष बरालद्वारा जारी विज्ञप्तिमा बाढी तथा पहिरो प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग र सहकार्यका लागि संघ प्रतिबद्ध रहेको उल्लेख छ।