काठमाडौं - अमेरिकामा रहेको गैरनाफामूलक संस्था अमेरिका–नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) ले नेपालका बाढी प्रभावित क्षेत्रमा आपत्कालीन स्वास्थ्य सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
फाउन्डेसनले जारी गरेको विज्ञप्तिअनुसार २६ अगस्ट २०२६ मा रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा आएको भीषण बाढी तथा हिमताल विस्फोटबाट भएको क्षतिप्रति गम्भीर चासो व्यक्त गर्दै आपत्कालीन राहत कोष सक्रिय गरिएको हो।
फाउन्डेसनले आफ्नो आपत्कालीन राहत कोषमार्फत स्थानीय साझेदार तथा स्वास्थ्य निकायसँग सहकार्य गरी प्रभावित जिल्लामा आपत्कालीन स्वास्थ्य टोली र आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने, विस्थापित परिवारलाई तत्काल आवश्यक स्वास्थ्य तथा चिकित्सकीय सहायता प्रदान गर्ने र विपद् प्रतिकार्यमा संलग्न अन्य संघसंस्थासँग समन्वय गर्ने जनाएको छ।
भोटेकोसी, त्रिशूली र नारायणी नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण गाउँ, सडक, पुल तथा जलविद्युत् संरचनामा ठूलो क्षति पुगेको फाउन्डेसनले जनाएको छ। प्रारम्भिक विवरणअनुसार मानवीय क्षतिको संख्या बढ्न सक्ने र बेपत्ता हुनेहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उल्लेख गरिएको छ। बाढीबाट विदेशी ट्रेकर तथा स्थानीय कामदारसहित ठूलो संख्यामा मानिस प्रभावित भएको फाउन्डेसनले जनाएको छ।
एएनएमएफले विपद्को असर प्रारम्भिक घटनाभन्दा लामो समयसम्म रहने भन्दै घाइतेको उपचार, विस्थापन, स्वास्थ्य सेवामा पहुँचमा आएको अवरोध तथा स्वास्थ्य चौकी र अस्पतालमा भएको क्षतिले थप स्वास्थ्य चुनौती सिर्जना गर्ने जनाएको छ।
एएनएमएफले विपद्बाट प्रभावित सबै परिवारप्रति सहानुभूति व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा आफ्नो सहयोग निरन्तर रहने जनाएको छ।
अमेरिका–नेपाल मेडिकल फाउन्डेसनले सन् १९९६ देखि नेपालमा स्वास्थ्य सेवा प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको छ। फाउन्डेसनका अनुसार उसले नेपालका विभिन्न क्षेत्रमा स्वास्थ्य सेवाको क्षमता अभिवृद्धि, अनुसन्धान, स्वास्थ्य नीति विकासलगायत क्षेत्रमा ३०० भन्दा बढी परियोजनालाई सहयोग गरिसकेको छ।
