काठमाडौं- रसुवामा आएको बाढीका कारण तीन स्वास्थ्य संस्था पूर्ण रूपमा ध्वस्त भएका छन् भने एक स्वास्थ्य संस्थामा आंशिक क्षति पुगेको छ। स्वास्थ्य क्षेत्रको अवस्थाबारे बिहीबार दिउँसो १२ः१५ बजेसम्मको विवरणअनुसार रसुवाका स्याफ्रुबेसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी र रसुवागढीस्थित टिमुरे स्वास्थ्य डेस्क पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन्।
त्यस्तै धादिङको गल्छीस्थित बैरेनी अस्पतालमा आंशिक क्षति पुगेको छ। धादिङ अस्पताल र त्रिशूली अस्पतालमा भने बाढीका कारण स्वास्थ्य सेवा तथा पहुँचमा अवरोध भएको स्वास्थ्य क्षेत्रको अवस्थासम्बन्धी प्रतिवेदनमा उल्लेख छ।
बाढीमा घाइते भएका १३० जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भएको छ। तीमध्ये ६७ जना उपचाररत, १४ जना थप उपचारका लागि रेफर भएका र ४८ जना डिस्चार्ज भएका छन्। एक जनाको मृत्यु भएको छ भने एक जना अस्पताल ल्याउँदा नै मृत अवस्थामा रहेको विवरणमा उल्लेख छ।
घाइतेमध्ये रसुवा जिल्ला अस्पताल, धुन्चेमा ५३ जना पुगेका छन्। त्यहाँ ११ जना उपचाररत, १३ जना रेफर र २८ जना डिस्चार्ज भएका छन् भने एक जनालाई अस्पताल ल्याउँदा नै मृत घोषणा गरिएको थियो।
त्रिशूली अस्पताल, विदुरमा १७ जना घाइते उपचारका लागि पुगेका छन्। तीमध्ये चार जना उपचाररत छन् भने १३ जना डिस्चार्ज भएका छन्। नुवाकोटको पिपलटारस्थित आयुर्वेदिक अस्पतालमा १० जना उपचाररत छन्।
काठमाडौंका विभिन्न अस्पतालमा पनि बाढीका घाइतेको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा १० जना पुगेकामा आठ जना उपचाररत, एक जना रेफर र एक जना डिस्चार्ज भएका छन्। त्रिवि शिक्षण अस्पताल पुगेका ३१ जनामा २६ जना उपचाररत छन् । तीमध्ये ६ जना आइसीयुमा (तीन भेन्टिलेटरमा) छन् भने नर्भिक इन्टरनेसनल अस्पतालमा तीन जनाको उपचार भइरहेको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना घाइते पुगेका छन्। उनी डिस्चार्ज भइसकेका छ। विशेषगरी रसुवा र धादिङमा स्वास्थ्य संस्थासम्मको पहुँचमा आएको अवरोधले उद्धार तथा उपचार सेवामा थप कठिनाइ सिर्जना गरेको छ।