काठमाडौं - हेल्थ फाउन्डेसन नेपाल (एचएफएन) ले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्को यस कठिन घडीमा आवश्यक सहयोगका लागि प्रतिबद्ध रहेको जनाएको छ।
हेल्थ फाउन्डेसन नेपाल यूएसए बोर्डले २६ अगस्ट २०२६ मा जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, विस्थापित तथा घर र जीविकोपार्जन गुमाएका नागरिकले भोग्नुपरेको गहिरो पीडाप्रति दुःख व्यक्त गरेको हो।
फाउन्डेसनले प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै आफ्नो क्षमताअनुसार विपद् प्रतिकार्यमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सरकारका सम्बन्धित निकाय तथा स्थानीय साझेदार संस्थासँगको समन्वयमा प्रभावित क्षेत्रमा प्राथमिकताका स्वास्थ्य आवश्यकताहरू पूरा गर्न सहयोग गर्ने उसले जनाएको छ।
फाउन्डेसनका अनुसार सहयोगका प्राथमिकतामा जनस्वास्थ्य, महामारीको जोखिम, पोषणसम्बन्धी समस्या तथा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग समेटिएका छन्।
प्रेस विज्ञप्तिमा विपद्को समयमा निरन्तर खटिएका स्वास्थ्यकर्मी, पहिलो उद्धारकर्ता, स्वयंसेवक, सरकारी निकाय, समुदायका सदस्य तथा मानवीय सहायता प्रदान गर्ने संस्थाहरूको समर्पणप्रति सम्मान व्यक्त गरिएको छ।
हेल्थ फाउन्डेसन नेपालले बाढीबाट प्रभावित सबैप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दै पुनःस्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
फाउन्डेसनले विज्ञप्तिको अन्त्यमा ‘एकतामा नै उपचार र पुनःस्थापनाको शक्ति भेटिन्छ’ भन्ने सन्देशसमेत दिएको छ। हेल्थ फाउन्डेसन नेपाल सन् २०१३ मा स्थापना भएको संस्था हो।