ललितपुर — पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) मा कार्यरत कर्मचारीले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले एक दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्।
प्रतिष्ठानले शुक्रबार जारी गरेको सार्वजनिक विज्ञप्तिमार्फत अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट रसुवा, नुवाकोट, धादिङ, तनहुँ, चितवनलगायत देशका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कर्मचारीको स्वेच्छिक सहयोग रकम कोषमा प्रदान गर्ने निर्णय गरेको जनाएको हो।
प्रतिष्ठानका रजिष्ट्रार डा. अरुण शाहीका अनुसार विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विपद्का कारण नियमित औषधि सेवन तथा स्वास्थ्य सेवाको पहुँचमा समस्या परेका दीर्घरोगी, बालबालिका, गर्भवती र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिइने प्रतिष्ठानले जनाएको छ।
प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको आवश्यकता पहिचान गरी सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा स्वास्थ्य संस्थासँग समन्वय गरेर स्वास्थ्य टोली परिचालन गर्ने पनि प्रतिष्ठानले जनाएको छ। टोलीमार्फत स्वास्थ्य सेवा, विशेषज्ञ परामर्श तथा आवश्यक मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता प्रतिष्ठानले व्यक्त गरेको छ।
प्रतिष्ठानले तत्काल आवश्यक पर्ने सहयोगको प्रकृति र परिमाण सम्बन्धित निकायसँगको समन्वयमा निर्धारण गरी उपलब्ध स्रोत, जनशक्ति र विशेषज्ञताको अधिकतम उपयोग गर्ने जनाएको छ।
