काठमाडौं- सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते तथा बिरामीलाई तोकिएका अस्पतालमा रेफर गर्न सम्बन्धित स्वास्थ्य संस्था तथा अस्पताललाई आग्रह गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रबाट घाइते तथा बिरामीलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि ल्याउने क्रम जारी रहेकाले उपचार व्यवस्थापनका लागि तोकिएका अस्पतालमा रेफर गर्न अनुरोध गरेको हो।
मन्त्रालयले घाइतेको उपचार व्यवस्थापनका लागि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान/वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान/पाटन अस्पताल र नेपाल प्रहरी अस्पताल लगायतका सरकारी स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखेको जनाएको छ।
मन्त्रालयका अनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर महाबौद्ध, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, पाटन अस्पताल ललितपुर तथा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा बाढीबाट प्रभावित घाइते तथा बिरामीको उपचार व्यवस्थापन गर्न आवश्यक तयारी गरिएको छ।
स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईका प्रमुख डा. हेमन्त चन्द्र ओझाद्वारा जारी सूचनामा सम्बन्धित अस्पताल तथा स्वास्थ्य संस्थालाई घाइते र बिरामीलाई तोकिएका अस्पतालमा पठाउँदा आवश्यक समन्वय र रेफरल व्यवस्थापन सुनिश्चित गर्न आग्रह गरिएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि घाइते तथा प्रभावितको उद्धार र उपचार कार्य तीव्र पारिएको छ। सरकारले प्रभावित क्षेत्रबाट थप घाइते तथा बिरामी उद्धार हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका प्रमुख सरकारी अस्पताललाई तयारी अवस्थामा राखेको हो।