काठमाडौं- रसुवालगायतका बाढी प्रभावितको राहत तथा उद्धारका लागि चिकित्सकहरूले व्यक्तिगत रूपमा सहयोग जुटाउन थालेका छन्। यसैक्रममा मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन्।
बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिनुपर्ने भन्दै डा. भट्टराईले आफ्नो तर्फबाट राहत कोषमा सहयोग गरेका हुन्।
यसैगरी मानसिक रोग विशेषज्ञ डा. सरोज प्रसाद ओझाले आफ्नो जन्मदिनको अवसर पारेर बाढी प्रभावितका लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन्।
जन्मदिनका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै डा. ओझाले पछिल्लो बाढीबाट प्रभावित नेपालीप्रति आफ्नो शुभेच्छा व्यक्त गरेका छन्। उनले विपत्तिपछि मानिसमा असहाय वा मानसिक रूपमा कमजोर महसुस हुनु असामान्य नभएको भन्दै प्रभावितलाई आफूहरू एक्लो नरहेको अनुभूति दिलाउन आग्रह गरेका छन्।