धुन्चे — रसुवामा आएको विनाशकारी बाढीपछि जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १२ जना स्वास्थ्यकर्मी सम्पर्कविहीनभएका छन्। जनस्वास्थ्य कार्यालय, रसुवाले भदौ १३ गते सार्वजनिक गरेको विवरणअनुसार भदौ १० गतेदेखि उनीहरू परिवार तथा सम्बन्धित निकायको सम्पर्कमा आएका छैनन्।
भोटेकोसी नदीमा आएको बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले स्वास्थ्यकर्मीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेको कार्यालयले जनाएको छ। यसअघि पनि रसुवाका ६ स्वास्थ्यकर्मी सम्पर्कविहीनभएको सार्वजनिक विवरण आएको थियो।
जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार सम्पर्कविहीन हुनेमा स्याफ्रुबेसी स्वास्थ्य चौकीमा कार्यरत खम्बु बोहोरा, गोसाइँकुण्ड गाउँपालिकाकी मनोसामाजिक परामर्शकर्ता कोपिला केसी, दाहालफेदी सामुदायिक स्वास्थ्य एकाइका विजयकुमार घले, टिमुरे स्वास्थ्य चौकीका सुस्मिता पाण्डे, कर्मा हिलिस घले र सरिता मल्ल रहेका छन्।
त्यस्तै, रसुवागढी हेल्थ डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट गोविन्द यादव र स्टाफ नर्स ललिता देवी कुमाई पनि सम्पर्कविहीन छन्। उत्तरगया गाउँपालिकाको स्वास्थ्य शाखाका बलराम न्यौपाने र प्रदीप न्यौपाने, उत्तरगयास्थित श्री निलकण्ठ माध्यमिक विद्यालयकी विद्यालय नर्स ममता श्रेष्ठ तथा उत्तरगयाको सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत दिनिशा शाही पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
सम्पर्कविहीनमध्ये केही स्वास्थ्यकर्मी बालबच्चासहित रहेको कार्यालयको विवरणले देखाएको छ। कोपिला केसी सात महिनाको बच्चासहित, सुस्मिता पाण्डे दुई वर्षको बच्चासहित, सरिता मल्ल तीन वर्षको बच्चासहित, ललिता देवी कुमाई आठ महिनाको बच्चासहित तथा ममता श्रेष्ठ श्रीमान्, दुई वर्षको छोरा र चार वर्षकी छोरीसहित सम्पर्कविहीन रहेको उल्लेख छ।
बाढीका कारण टिमुरे र स्याफ्रुबेसीका स्वास्थ्य चौकीसमेत प्रभावित भएका छन्। सञ्चार सम्पर्क टुटेका कारण सम्पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
जनस्वास्थ्य कार्यालयले सम्पर्कविहीन स्वास्थ्यकर्मीहरूको अवस्थाबारे जानकारी प्राप्त गर्न तथा खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय, रसुवाले पनि बाढी प्रभावित क्षेत्रमा सम्पर्क तथा उद्धारसम्बन्धी विवरण संकलन गरिरहेको छ।
सम्पर्कविहीन स्वास्थ्यकर्मीको विवरण:
१. खम्बु बोहोरा — रुकुम पश्चिम, स्याफ्रुबेसी स्वास्थ्य चौकी
२. कोपिला केसी — रुकुम पश्चिम, गोसाइँकुण्ड गाउँपालिका
३. विजयकुमार घले — गोसाइँकुण्ड–२, टिमुरे
४. सुस्मिता पाण्डे — गोरखा, टिमुरे स्वास्थ्य चौकी
५. कर्मा हिलिस घले — गोसाइँकुण्ड–२, टिमुरे
६. सरिता मल्ल — कालिकोट, टिमुरे स्वास्थ्य चौकी
७. गोविन्द यादव — सर्लाही, रसुवागढी हेल्थ डेस्क
८. ललिता देवी कुमाई — जाजरकोट, रसुवागढी हेल्थ डेस्क
९. बलराम न्यौपाने — उत्तरगया, स्वास्थ्य शाखा
१०. प्रदीप न्यौपाने — उत्तरगया, स्वास्थ्य शाखा
११. ममता श्रेष्ठ — उत्तरगया, श्री निलकण्ठ मावि
१२. दिनिशा शाही — डोल्पा, उत्तरगयाको सामुदायिक स्वास्थ्य इकाइ