काठमाडौं — नेपालका विभिन्न भूभागमा आएको भीषण बाढीबाट प्रभावित परिवारको पुनर्वासका लागि बीएलसी ग्लाेबल हाेल्डिङ्स अन्तर्गतका कम्पनीहरू र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रूपमा रु. ३ करोड आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
बीएलसी परिवारले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
बाढीका कारण हजारौँ परिवार घर, सम्पत्ति तथा जीविकोपार्जनबाट वञ्चित भएको उल्लेख गर्दै BLC र फाउण्डेसनले तत्कालीन राहतसँगै सुरक्षित आवास र दीर्घकालीन पुनःस्थापना आवश्यक रहेको जनाएको छ।
सोही उद्देश्यअनुसार बाढीपीडित परिवारको पुनर्वासका लागि रु. ३ करोड सहयोग गर्ने निर्णय गरिएको संस्थापक बसन्त चौधरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। सम्बन्धित निकायसँग समन्वय गरी उक्त रकम वास्तविक पीडित परिवारको पुनर्वासमा प्रभावकारी रूपमा खर्च गरिने जनाइएको छ।
विज्ञप्तिमा उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, सरकारी निकाय, सामाजिक संस्था तथा अन्य सहयोगीप्रति सम्मान व्यक्त गरिएको छ।
साथै, विपत्तिको समयमा पीडित परिवारको जीवनमा आशा र भरोसा जगाउन सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न पनि आग्रह गरिएको छ।