काठमाडौं — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले रसुवामा बाढीपहिरोका क्रममा भेटिएका तर तत्काल पहिचान हुन नसकेका शव गाड्नु नष्ट गर्नु नभई संरक्षण गर्नु भएको स्पष्ट पारेकी छन्।
मन्त्री मेहताका अनुसार शव कुहिने क्रममा वातावरणीय तथा सार्वजनिक स्वास्थ्यमा जोखिम बढ्न सक्ने भएकाले सम्भावित संक्रमण तथा महामारीको जोखिमलाई ध्यानमा राखी प्रचलित स्वास्थ्य मापदण्ड र कानुनी प्रक्रियाअनुसार शवको सुरक्षित व्यवस्थापन गरिएको हो।
उनले शवबाट आवश्यक डीएनए (DNA) लगायतका नमुना सुरक्षित राखिने भएकाले भविष्यमा पनि वैज्ञानिक विधिबाट पहिचान गर्न सकिने व्यवस्था गरिएको बताइन्। पहिचान खुलेपछि सम्बन्धित परिवारलाई आफ्नो धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गर्ने अवसर सुनिश्चित गरिने उनको भनाइ छ।
मन्त्री मेहताले विपद्को संवेदनशील समयमा अपुष्ट सूचना तथा भ्रामक सामग्री शेयर नगर्न आग्रह गरेकी छन्। उनले आधिकारिक सूचनामात्र विश्वास गर्न र विपद्का बेला सबै पक्ष संवेदनशील तथा जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन्।
रसुवामा बाढीपहिरोपछि पहिचान हुन नसकेका शवहरूको वैज्ञानिक विधिबाट पहिचान तथा सुरक्षित व्यवस्थापनको प्रक्रिया अघि बढिरहेको उनको भनाइ छ।