काठमाडौं- रसुवा, नुवाकोट, धादिङ, तनहुँ, चितवनलगायतका विभिन्न क्षेत्रमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दुःख व्यक्त गर्दै बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचार तथा राहतमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
केन्द्रले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूसँग ऐक्यबद्धता रहेको जनाएको छ।
विपद् प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले स्वेच्छाले दुई दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी सहयोग गर्ने निर्णय गरेका छन्।
केन्द्रले बाढीका कारण नियमित उपचार तथा औषधि सेवनमा समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै दीर्घकालदेखि नियमित औषधि सेवन गरिरहेका बिरामी, मुटुरोगी तथा अन्य मुटुसम्बन्धी समस्या भएका नागरिकको उपचारमा आवश्यक सहयोग गर्ने जनाएको छ।
प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको आवश्यकता पहिचान गरी सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा स्वास्थ्य संस्थासँग समन्वय गरेर आवश्यकताका आधारमा स्वास्थ्य टोली परिचालन गर्ने केन्द्रको योजना छ। स्वास्थ्य टोलीमार्फत स्वास्थ्य सेवा, विशेषज्ञ परामर्श तथा आवश्यक औषधोपचारमा सहयोग गरिने केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार तत्काल आवश्यक पर्ने सहयोगको प्रकृति र परिमाण सम्बन्धित निकायसँगको समन्वयमा निर्धारण गरिनेछ। उपलब्ध स्रोत, जनशक्ति र विशेषज्ञताको अधिकतम उपयोग गर्दै प्रभावित नागरिकलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता पनि केन्द्रले व्यक्त गरेको छ।
केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. आशिष गोविन्द अमात्यद्वारा जारी प्रेस विज्ञप्तिमा विपद्का बेला केवल सहानुभूति व्यक्त गरेर मात्र नपुग्ने भन्दै आवश्यकता पहिचान, सम्बन्धित निकायसँग समन्वय र आवश्यक स्थानमा आवश्यक सहयोग पुर्याउनुपर्नेमा जोड दिइएको छ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विपद्बाट प्रभावित नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि आफ्नो जिम्मेवारीअनुसार सहयोग गर्न सदैव तत्पर रहेको जनाएको छ।
