काठमाडौं - नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारसँग साझेदारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
परिषद्को शनिबार बसेको बोर्ड बैठकले बाढीपीडितलाई तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सरकारी कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य उपचार तथा पुनर्स्थापनाका लागि सरकार, सम्बन्धित निकाय तथा स्वास्थ्य क्षेत्रका सबै पक्षबीच प्रभावकारी सहकार्य आवश्यक रहेको परिषद्ले जनाएको छ।
बोर्ड बैठकले विपद्का कारण प्रभावित क्षेत्रमा निरन्तर खटिएर घाइते तथा बिरामीको उपचार, उद्धार र स्वास्थ्य सेवामा योगदान पुर्याइरहेका स्वास्थ्यकर्मीहरूप्रति उच्च सम्मानसहित धन्यवाद व्यक्त गर्ने निर्णयसमेत गरेको छ।
परिषद्ले विपद्को यस कठिन परिस्थितिमा स्वास्थ्यकर्मीहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै प्रभावित नागरिकको जीवनरक्षा र स्वास्थ्य सेवाको निरन्तरताका लागि आवश्यक सहयोग तथा समन्वयलाई प्राथमिकता दिने जनाएको छ।
गत १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण ठूलो संख्यामा नागरिक प्रभावित भएका छन् भने घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ।